
काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरुको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरुले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरुको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उहाँले सो धारणा राख्नुभएको हो । उपसभापति गुरुङले पार्टीमा युवाहरुलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले पार्टीमा युवाहरुलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पार्नुभयो ।
उपसभापति गुरुङले भन्नुभयो, ‘यो सकारात्मक छ । किनभने युवाहरुलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरुलाई निश्चित कोटा छुट्टयाइएको छैन विधानमा । त्यो छुट्टयाउनु पर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्टयाउन आवश्यक छ । युवा पंक्तिवाई इग्नोर गर्नु हुँदैन ।
युवाहरुको सहभागिताको लागि केन्द्रिय समिति सम्म तलदेखिमाथिसम्म निश्चित कोटानै छुट्टयाउनु पर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्टयाइएको छ । त्यसै अनुसार युवाहरुको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ ।’
काँग्रेसका कार्यकर्ताहरु युवाहरुको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरुको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्