Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


सुन प्रकरण: पूर्वसभामुख महराविरूद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगाे माग दावी

महराविरूद्ध भाेलिदेखि थुनछेक बहस शुरू हुने

455
Shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध मुद्दा दर्ता भएको जनाएकाे हाे। महरा विरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रूपैयाँ बिगो र ३ वर्ष भन्दा बढी अवधि कैद सजाय माग दावी गरिएको छ । महराविरुद्ध मंगलबारदेखि थुनछेक बहस शुरु हुने भएकाे हाे। बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुने भएकाे छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो । महरामाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेकाे छ । २०७९ साल पुष १० गते फ्लाई यूएईको फ्लाइटनम्बर एफजेट २०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडेका थिए । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटेका थिए । भेप साटिएको शंका लागेपछि २०८० साल वैशाख २६ गते भन्सारले सीआईबीलाई पत्राचार गर्दै विमानस्थलले अनुसन्धान गर्न भनेको थियो । २ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो । सीआईबीले महरा संलग्न रहेको भनिएको सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै केही दिन अघि बयान लिइएको जनाएकाे छ।