काठमाडौं । मुलुकको पछिल्लो सुरक्षा अवस्था र आगामी योजनाबारे प्रधानमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ ।
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो ।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो भने सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र रहेको उल्लेख गर्दै राजनीतिक मुद्दाको सम्बोधनका लागि संवादको ढोका खुला राखेको बताउनुभयो ।
सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दल तथा समूहलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरु राख्न उहाँको आग्रह छ । सम्बद्ध पक्षहरूसँग सरकारले वार्ता गर्ने बताउँदै उहाँले संवादबाटै समस्याको समाधान गर्न चाहने बताउनुभयो ।
मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरुलाई गृहमन्त्री अर्यालको आग्रह छ । मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरु सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि उहाँले बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्