Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


बागमतीसहित ३ प्रदेशमा कार्तिक १३ देखि १५ गतेसम्म वर्षा र भारी हिमपातको सम्भावना (विज्ञप्तिसहित)

सतर्कता अपनाउन विभागको अनुरोध

1.7k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरेकाे छ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे। प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको भएको छ। विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ । 

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन लगायत क्षेत्रमा समेत प्रभाव पर्न सक्ने जानकारी गराउदै विभागले सम्बन्धित सबै निकायहरू र आम सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध छ । मनाङ र मुस्ताङमा मंगलबार पश्चिमी वायू र अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा भारी वर्षा भएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले मंगलबार मनाङ र मुस्ताङमा भारी वर्षा भएकाे बताउनुभएकाे हाे। विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ । ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । मंगलबार दिउँसाे ३ बजेर ४० मिनेटसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको हाे । पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१ दशमलव ८ मिलिमिटर र सिन्धुपाल्चोकमा २९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।

चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको हाे। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ। मंगलबार राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन आम नागरिकमा अनुरोध समेत गरेकाे हाे।