Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू


91
Shares

काठमाडाैं । छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु भएको छ।

सामा चकेवा पर्वको सुरिला गीतहरुले मिथिलाञ्चलाई सुरीलो बनाइरहेको हाे । भाइ-बहिनीको स्नेहको पर्व सामा चकेवाले पूरा मिथिलाञ्चलकै वातावरणलाई मनमोहक बनाउने गर्छ । मिथिलाको पारम्परिक पर्वको रुपमा रहेको सामाचकेवा छठको खरना अर्थात कार्तिक शुक्ल पञ्चमी तिथिबाट शुरु भई पूर्णिमा तिथि अर्थात दश दिनसम्म रातिमा छरछिमेकमा रहेका दाजु-भाइ हुने दिदी-बहिनीहरुले सामूहिक रुपमा खेल्ने गर्दछन् ।

यस पर्वमा माटोबाट सामा, चकेवा, वृन्दावन, चुगला, सात भाइयासहितका पात्रहरु निर्माण गरिन्छ र रातिको समयमा दिदी-बहिनीहरु मिथिला संस्कृति झल्किने विभिन्न मैथिली गीतहरु गाउँदै चुगला नामक पात्रलाई गाली गर्दै बनेको हास्यपरिहास्यको माहौलले पर्वलाई मनोरञ्जनात्मक बनाउने गरेका छन् । सामाचकेवा पर्व भाइ-बहिनीको पर्व मात्र नभई वातावरणीय हिसाबले समेत महत्वपूर्ण रहेको संस्कृतिविद्हरु बताउँछन् । पद्म पुराणकाअनुसार भगवान कृष्णकी छोरी श्यामा र बुन्दावनका कुमार चारुबक्य एकअर्कालाई माया गर्थे ।

राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दथे । श्यामा र चारुवक्यलाई माया बन्धनमा बाँधिएको देखेर चुडकले श्यामाको सतीत्वमाथि लाञ्छना लगाउँदै भगवान कृष्णलाई झुठो कुरा सुनाउँछ । भगवान कृष्णले छोरीमाथि क्रुद्ध हुँदै छोरीलाई चरी बन्ने श्राप दिन्छन् । भाइ साम्बले पछि बहिनी श्यामालाई चरि योनीबाट मुक्त गराएको स्मरणमा यो पर्व मिथिलाञ्चलमा समेत मनाउन थालिएको हो ।