७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एउटा कुकुरको मृत्युमा हजारौं मानिस दुःखी


0
Shares

काठमाडौं, माघ ६ । सोशल मिडियामा सेलिब्रेटी भएको एउटा कुकुरको मृत्यु भएपछि हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बू’ नाम गरेको १२ वर्षीय पोमेरेनियन कुकुरको शुक्रबार मृत्यु भएको हो ।

अमेरिकाको सान फ्रान्सिस्कोमा रहँदै आएको सो कुकुर विभिन्न टेलिभिजनमा समेत छाउन सफल भएको थियो । ‘बू’ कै नामबाट एउटा पुस्तकसमेत प्रकाशित भइसकेको छ ।

सुतिरहेको अवस्थामा ‘बू’ को मृत्यु भएको उनका मालिकले जनाएका छन् । ‘बू’कै फेसबुक पेजमा उनका मालिकले दिएको जानकारीअनुसार सन् २०१७ मा ‘बू’ को सबैभन्दा प्यारो साथी ‘बडी’ को मृत्यु भएको थियो । त्यसपछि ‘बू’ शोकमा रहँदै आएको उनका मालिकको भनाइ छ ।

चिन्ताकै कारण ‘बू’ को मृत्यु भएको उनले बताए । ‘बडी’ को मृत्युपछि ‘बू’लाई मुटुसम्बन्धी समस्या हुने गरेको उनको भनाइ छ ।

उनले ‘बू’को फेसबुक पेजमा लेखेका छन्, ‘उसलाई अब कुनै प्रकारको पीडा वा दुःख हुनेछैन । सप्तरंगी पुलको पारी उसले सबैभन्दा पहिला उसको खास (बडी)लाई भेट्नेछ, उनीहरु दुवै लामो समयपछि भेट्दा धेरै खुशी हुनेछन् ।’

अन्त्यमा उनले ‘बू’लाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामी आफ्नो मुटुको गहिराईबाट तिमीलाई प्रेम गर्छौं, तिमीलाई फेरि नभेटेसम्म हामी तिम्रो कमी महसुस गरिरहने छौं, बडीका साथ खुब रमाइलो गर, जहाँ रहे पनि धेरै रमाइलो गर्नू ।’

‘बू’ को फेसबुक पेजमा उनका मालिकले यस्तो पोस्ट गरेपछि ४७ हजारभन्दा बढीले श्रद्धाञ्जली दिएका छन् । उक्त पोस्टलाई ७४ हजार भन्दा बढीले सेयर गरेका छन् । (एजेन्सी)