
काठमाडौं । डा. रेणुका ‘सोलु’को उपन्यास ‘चिराक’ बजारमा आएको छ । हालै काठमाडौंमा पुस्तकको विमोचन गरियो ।
नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा पश्चिम नेपालको भूगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ ।
महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारेकी छन् ।
विमोचन कार्यक्रममा समालोचक प्रा. डा. लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवारभित्रको महिला हिंसाको उजागर भएको टिप्पणी गरे ।
पढाइमा समेत तेज उपन्यासकी मूल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाइँमा चिराक बनेर उभिन्छिन् भन्ने सन्देश पुस्तकले दिन्छ ।
यौन मनोविज्ञान, पुरुषप्रधान समाज र मानसिकताले जकडिएको समाजका खराब पक्षलाई पृथक् रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले बताइन् ।
यस्तै, समालोचक प्रा. डा. ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने विचार राखिन् ।
त्यसका लागि साहित्यिक कृतिमार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ ।
अर्की साहित्यकार माया ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिँडिसकेको बताइन् । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेट्नु असाधारण भएको उनको भनाइ छ ।
लेखक ‘सोलु’ले उपन्यासमा साहित्यिक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको तस्तै ल्याउन झर्रा शब्दको बढी प्रयोग गरिएको बताइन् ।
सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ ।
लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । यसअघि, उनको उपन्यास ‘भीर मह’ बजारमा आएको छ ।
उनका ‘गुलाफ फुल्न खोज्दा’ आत्म संस्मरण, ‘अस्तित्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार बिपीका नारी पात्रमा नीति चेतना’ समालोचनालगायत १२ वटा कृति प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस्