९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पर्दाभित्र र बाहिर डाक्टर केसीका प्रायोजकहरु


26
Shares

-संजिव कार्की

बेइमानको परीक्षा भनेकै बेइमानी हो । तर इमानले सँधै परीक्षा दिनुपर्छ । सँधै उत्तिर्ण बन्नुपर्छ उत्तिर्ण भएर मात्रै पनि पुग्दैन ए प्लसको रिजल्ट देखाउनुपर्छ । म गलत छैन, हैन मेरो उदेश्य खराब छैन भनेर बरोबर परीक्षाको अग्नीमा होमिनुपर्छ । विगत केहि वर्षदेखि त्यस्तै सिलसिलेवार परीक्षाको सामना गर्दैछन डाक्टर गोविन्द केसी । गोविन्द केसी आफू एक्लै परीक्षामा होमिन्छन तर परिक्षामा धेरैले आ–आफ्नो ठाउँँबाट पास फेलको हिसाब चुक्ता गर्नुपर्ने हुन्छ । ग्रेडिंगको लेखाजोखा राख्नुपर्छ, जब केसी भोकै सुत्छन तव यो देशको बागडोर हातमा लिनेको निन्द्रामा धावा बोलिन्छ । शान्ति र अमनचैनमा अशान्तिको हुरी, बतास मडारिन पुग्छ । भय, त्राश र आतंकको चट्याङ बज्रिन जान्छ । छोटो कदका, सामान्य काया र लुखुरे ज्यानका डाक्टर केसीको हुँकारले धेरैलाई बारम्बार असिन पसिन पारेको छ । सरकारी दानापानी खाएर, सरकारी आवासमा बसेर आफ्नै सरकारको विरुद्द जेहाद छोड्ने हठी र सन्की मनुवाको शिकार पहिलोपटक डा. बाबुराम भट्टराईको सरकार बन्यो । खिलराज, प्रचण्ड, शेरबहादुर, शुशील हुँदै केपी तेस्रो पटक केसीको चुनौतिको सामना गर्दैछन ।

बाबुरामले सर्वप्रथम डा. केसीका माग जायज छन, सम्बोधन राज्यले गर्नुपर्छ भनि राज्यको तर्फबाट आधिकारिक दस्तावेजिकरण गरे, केसीको न्यायोचित माग राज्यको नजरमा पर्यो । देशमा स्वास्थ्य क्षेत्रमा रहेका तमाम विकृति सतहमा आयो धेरैले धेरै कुरा जान्नेबुझ्ने मौका पाए । राज्यले जनतालाई गुमराहमा पारेको कुरा जनताको तहसम्म आइ पुग्यो । राज्यले जनताको स्वास्थ्य प्रतिको दायित्व किन निर्वाह गर्न सकेन ? स्वास्थ्य सेवा पैसा छाप्ने मेशिन कसरी बन्यो यसको जड के हो ? किन राजनीतिक पार्टी र नेताहरु चुके ? किन सरकार र पार्टीहरु माफियाको चंगुलमा परे ? कसरी राज्य स्वास्थ्य क्षेत्रको निजीकरण गरेर सेवालाई ब्यापारमा रुपान्तरण गर्न पुग्यो आदि इत्यादी अनगिन्ती सबाल र यसको जबाफ खोजिन थाल्यो । स्वास्थ्य र शिक्षामा भएको विकृतिको चांङ नै चांङले सरकार र पार्टीहरुलाई बेला बेलामा निधार खुम्च्याएर सोच्न बाध्य बनायो । मेडिकल शिक्षामा बिद्यार्थी माथि भएको चरम शोषण, मेडिकल शिक्षा डाक्टरी लाइसेन्स बेच्ने पसल भएकोमा देशको ध्यान गयो । गार्इ गोठ बनाउन, चर्पी बनाउन मापदण्ड पालन गर्नुपर्ने तर मेडिकल शिक्षा पढाउन मापदण्ड धोती लगाए पनि हुने पैसा भए सब मिल्ने परिपाटी र कमशल मेडिकल शिक्षा प्रणालीको अभ्यास भयो । स्वास्थ्य जस्तो संवेदन विषयमा जुन खेलाची प्रदर्शन गरियो जथाभावी सम्बन्धन दिइयो, त्यो विल्कुल गलत थियो । भयो जसलाई औंल्याउन स्वास्थ्य क्षेत्रकै मान्छेको आवश्यकता पर्‍यो जसको लागि हिम्मत गरे हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर केसीले ।

यसरी पटक पटक अनशन बसेर सरकार र नेपाली जनतालाई सचेत नगराएका भए अहिले त्रिवि र केयू सम्बन्धन बिक्री गर्ने थलो भन्दा पर हुँदैनथे । खसी बजार बन्ने थियो मेडिकल क्षेत्र । चिकित्सा शिक्षा र नीतिबारे यति धेरै बहस र गरमागरम पनि हुन्थेन । यस बीच थुप्रै सुधार र परिवर्तनका संकेतहरु पनि प्राप्त भएका छन् । थुप्रै प्रश्नका जबाफ मिलेका छन् । थुप्रै प्रश्नहरु गुचुल्टिएर सरकारहरुको मथिंगल खराब भएका छन् । मेडिकल क्षेत्रका बिथिति र विसंगति बारे जनमानसमा व्यापक सचेतता पलाएको छ । थुप्रै असंगत पक्षले संगत हुने चेस्टा पनि गरेका छन् । थोरैलाई हानी र धेरैलाई लाभ पनि भएको छ ।

एउटा मान्छेको हठ, जिद्दी र पागलपनको अघिल्तिर मै हुँ भन्ने सत्ताको तागत झुकेको छ पटक पटक । डाक्टर केसीको निराहार निर्जल ब्रत र अनुष्ठानको हुर्मत लिनेहरुको महा बिजोग भएको छ । कसैले औंला उठाउन नसक्ने भनिएको पद र शक्तिलाई एउटा व्यक्तीले चोर औंला देखाएर पद र शक्तिको दुरुपयोग नगर्न चेतावनी दिएको छ । प्रायले असम्भव ठानेको भीमकाय शक्तिलाई एउटा फकिर जोगीको त्याग र अनुष्ठानको बलले गलहत्याएको छ । अपार जनसमर्थन र उत्प्रेरणाले फकिर डाक्टरले प्राप्त गरेको शक्ति र सामर्थ्य जनहितको लागि काविल भएको छ । बर्षौं जेल बसेका त्यागी नेताको संकल्प भन्दा सयौं दिन भोकै बस्ने तपस्वीको त्यागले देशको कूचक्र तोडन सहज भएको छ । अनवरत निष्ठा र नैतिकता बोक्नेसंग बोक्रे निष्ठा र अधम नैतिकता झुक्नु परेको दृस्टान्त वि.स.२०६९ साल देखि आज पर्यन्त पटक पटक सरकार र डाक्टर केसी बीचको सम्झौता हेरे पुग्छ ।

लाचार भएर सम्झौता गर्ने सरकार आफ्नो वचनमा कति पनि अडन सक्तैन भन्ने कुराको उदाहरण नै डाक्टर केसीको १६ औं चरणको अनशन हो । एकै कुराको लागि यति धेरै पटक यति धेरै विविध रंग र रोगनका सरकारसंग माग राखेर आजसम्म २०० दिन् भन्दा बेसी भोकै सुत्नु चानचुने कुरा हो र ? सरकारसँग एउटा निहथ्ता व्यक्तिको लडाई अनि बारम्बार सरकारहरुबाट धोका बेइमान र कपट अनि छल कति टिठ लाग्दो छ सरकारको नैतिकता ? कति निम्छरो र दुर्वल छ सरकारको आत्मविश्वास ?  कति दुःखद छ डाक्टर केसीको जीवन हत्केलामा राखेर भोकभोकै मर्ने संकल्प । बलियो र शक्तिशाली सरकारको कमजोर नैतिकता अनि एउटा दुब्लो, ख्याउटे ज्यानको डाक्टरको उच्च नैतिकता । उही सरकारको कर्मचारी उसैको तलब खाएर उसैका विरुद्ध एक्लै उभिने साहस हो कि दुस्हाहस ?

सुरु सुरुमा धेरैले दुश्साहस नै भने आज पनि सत्ताका तावेदार नैतिकहीन जमातले दुई तिहाई बलको सत्ताको सामु यो दुश्साहस नै भन्छन र दुत्कार्छन तर समातेर कार्यबाही गर्ने आँट गर्न सक्तैनन् । एउटा नाथे कर्मचारी त हो आफ्नो हैसियतमा बस भनेर सुरबेसुरमा कुर्लन्छन् तर नसियत गर्ने ह्याउ देखाउन सक्तैनन् कारण प्रस्ट छ, सरकार भ्रष्ट छ ।  अर्काको चारो र दानापानी खाएर काम गर्नेको अगाडि देशको तलब खाएर देशकै लागि मर्ने र बाँच्ने डाक्टर केसी तुलना योग्य होइनन । डाक्टर केसी जागिर गरेर थोरै खान्छन र धेरैको लागि बोल्छन, जिन्दगी कुर्वानी गर्न हरहमेसा तयार रहन्छन तर माफियाका गोटीहरु, माफियाको भात खाएर, माफियाको नुनपानीको लागि आफ्नो पदको गरिमा भुलेर नग्न नृत्य गर्छन । सहरमा निर्वस्त्र हिंड्छन । सारा जनताले कुरीकुरी गर्दा पनि लाज भन्ने कुरा पचाएर माफियाको पक्षमा लेख्छन–बोल्छन र निर्णय गर्छन । देश र जनता भन्दा माफियाले टाट्नामा हालिदिने हरियो घाँसप्रति इमान्दार बन्छन ।

१६ औं अनशन इलामबाट सुरु गरेर डाक्टर केसीले त्यो भेगको लागि पायक पर्ने सरकारी मेडिकल कलेज खोल्न सरकारलाई दबाब सिर्जना गर्छन र त्यो वरपरका जनप्रतिनिधि त्यसको बिरोधमा डाक्टर केसीलाई इलामबाट लखेट्न पर्छ भनेर जनमत सिर्जना गर्न भ्रमको खेती गर्न इलास्टिक चुडिएको कट्टु लगाएर कुद्छन ।  अब डाक्टर केसीले कहिल्यै भोको बस्नु पर्दैन भनेर १५ औं अनशनमा जुस खुवाउने सवाषचन्द्र नेम्बाङ आज आफ्नो क्षेत्रमा अनशन बसेर त्यो भेगमा गुणस्तरीय स्वास्थ्य दिने अस्पताल र शिक्षण केन्द्र खोल्न दबाब दिने केसीका विरुद्द मान्छे जम्मा गरेर नारा जुलुश गर्न खटाउँछन । ताप्लेजुङ समेतलाई सम्बोधन हुने माग राख्ने केसीसँग जुध्न पुग्छन युवा नेता योगेश भट्टराई । स्वास्थ्य र शिक्षा राज्यको दायित्व हो भनेर आन्दोलन गर्छन केसी । स्वास्थ्य र शिक्षामा ब्यापार गर्नुपर्छ भनेर उभिन्छन कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता । समानता र गरिबको पहुँचको कुरा उठाएर सत्याग्रहको अग्निमा होमिन रत्तिभर अप्ठ्यारो मान्दैनन डाक्टर केसी तर मार्सी चामलको भात खाएर मेडिकल क्षेत्रका ब्यापारीको हितमा देशको कानुन बनाउन कम्युनिस्ट पार्टीको झन्डा सुक्री बिक्रीमा राख्छन कम्युनिस्ट पार्टीका सांसदहरु ।

कस्तो बिडम्बना ! गरिबको कुरा उठाएर गरिबको लागि ज्यान गुमाउन मन्जुर जोगी डाक्टर केसी चैं कम्युनिस्ट बिरोधी अनि केही सिमित मान्छेको ब्यापार व्यवसायमा आफ्नो हित देख्ने कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता चैं कम्युनिस्ट ? नामले कम्युनिस्ट भएर हुन्छ कि कर्मले कम्युनिस्ट हुनुपर्छ ?  डाक्टर केसीलाई प्रायोजित अभियन्ता भएको आरोप लोकमानले लगाए । गोपाल पराजुलीले लगाए अब त्यहि आरोपलाई जोडतोडले प्रचार गर्दैछन योगेश भट्टराई । डाक्टर केसीलाई बोक्नेहरु, उचाल्नेहरू पक्कै पनि आयोजक–प्रायोजक हुन् । बिना प्रायोजक अभियन्ता हुन् असम्भव छ । त्यसैले केसी अभियान अघिल्तिर, पछिल्तिर ,दायाँ र वाँया आयोजक प्रायोजक छन् ती कुनै दुलाभित्रबाट हैन सिधै सिंहदरबार अगाडि कुर्लनछन् । समर्थन गर्छन, बहस, पैरवी गर्छन, गगन भेदी नारा फलाक्छन देशका सबै जसो भूभागबाट बोल्छन नारा लगाउँछन र भन्छन– ‘एक्लो छैनौ डाक्टर केसी हामी तिम्रो साथ् छौं’, डाक्टर केसी एक्लो छैनौं हामी तिम्रो साथ् छौं भन्ने जनता सर्वसाधारण, समर्थक र शुभचिन्तक नै डाक्टर केसीलाई बोक्ने उचाल्ने र प्रायोजक हुन ।

१५ औं अनशन जुम्लाबाट शुरु भयो त्यहि निस्के के सीका प्रायोजक, त्यहीका सर्वसाधारण, युवा, बृद्ध, महिला, डाक्टर नर्स स्वास्थ्यकर्मीले कुटाइ खाएर पनि समर्थन गरे सरकारी पुलिस दमन चिरेर बोले तिनै हुन् केसीका असली प्रायोजक । १६ औं अनशन इलामबाट थालनी गरे त्यहाँ ज–जसले तनमन र ज्यानले समर्थन गरे ति गोविन्दका प्रायोजक हुन, आदर्श हुन् । भगवान हुन, ताकत हुन, सत्ताल्लाई थुर्थुरी पार्ने ल्याकत हुन् । अब देशभरबाट जो जहाँ छन् त्यँहीबाट लेख्ने ,बोल्ने, कराउने , समर्थनमा प्रदर्शनमा सडकमा निस्कने सबै नेपाली डाक्टर केसीका प्रायोजक हुन् अभियन्ता हुन, अभियानकर्मी हुन ।

सबै पार्टी, सबै दलका नेताकार्यकर्ता जसलाई जनताको मुद्दामा अपनत्व छ, आफ्नो र सन्ततिको भविष्यप्रति चिन्ता छ ति सबै बिना आग्रह बिना पूर्वाग्रह डाक्टर केसीका आफन्त हुन ।  नातागोता हुन भएभरका साथीसंगती हुन् । उनका जे छन ,जे हुन सबै नेपाली जनता हुन् । धन–दौलत, इज्जत ,मान प्रतिष्ठा, सपना ,जपना उदेश्य, धेय, ध्यान सबै सबै निशर्त डाक्टर केसी प्रायोजित अभियन्ता हुन् । स्वतस्फुर्त नेपाली जनताको प्रायोजना नै उनको अभियान हो । पर्दा बाहिर आवरणमा एकथोक पर्दा भित्र अन्तर्यमा अर्कोथोक डाक्टर केसीको अभियान होइन जे छ सबै ओपन छ । उनका लागि लुकाउन छिपाउन पर्ने गोप्य अंग भन्दा केही छैन । त्यसैले उनको प्रस्तुतीमा रिस, खुशी, हाँसो, आँशु जे आउँछ अन्तर्मनबाट आउँछ बनावटी ,नक्कली, आडम्बर र चिप्लो घसेर बोल्ने स्वभाव उनको छैन । रुखो नै भए पनि उनी दिलदेखि छन् नरम । छन् भने पनि मन देखि छन् । नरम र मुलायम बोली भित्रको षडयन्त्र भन्दा खस्रो र रुखोपन भित्रको वास्तविकतामा सच्चाइ भेटिन्छ  । (लेखकः डा.केसी अभियानमा आबद्ध अभियानकर्मी हुन्)