
ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् ।
काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा रु २०० तिर्नुपर्यो ।
रानीबारीबाट बालुवाटारसम्मको ट्याक्सी भाडा मिटरमा जाँदा धेरैमा रु १५० सम्म पर्छ । उनी न त मिटरमा जान पाइन, न बिल नै पाइन् ।
लैनचौरबाट नक्साल जान नवीन काफ्लेले रु १५० तिर्नुपर्यो । जहाँ मिटरमा जाँदा एकसय रुपैयाँ पनि लाग्दैन ।
उनलाई मिटर बिग्रेको छ भनेर सवारी चालकले बिल र मिटरबिनै रु १५० लिए ।
यी त केवल प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ उपत्यकामा दैनिक सयौं यात्रु ट्याक्सीबाट ठगिरहेका छन् ।
यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिना बर्दीमा दैनिक १०/१२ जना प्रहरीलाई खटाइरहेको छ ।
उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले उक्त क्षेत्रमा बिना बर्दी प्रहरी खटाएको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउँछन् ।
“दैनिक २०० को हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये २० देखि ३० ट्याक्सी चालक कारबाहीमा पर्छन्,”- प्रमुख खनाल भन्छन् ।
महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२/७३ मा दुई हजार ८०१ ट्याक्सी कारबाहीमा परेका थिए ।
कारबाही परेका ट्याक्सीको राजश्व पहिले यातायात व्यवस्था कार्यालयले लिने गरेपनि अहिले महाशाखाले नै लिने जिम्मेवारी पाएको छ ।
मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण आफूहरुले यात्रुलाई बिल दिन नसकेको बताउँछन् ।
“महँगो शुल्कमा कमसल खालाका प्रिन्टर जडान गरेर काम गर्दा धुलो पसेर अधिकांश प्रिन्टर बिग्रिसकेका छन्, हामीले कसरी यात्रुलाई बिल दिन सक्छौँ,”-अध्यक्ष गौतमले भने ।
ट्याक्सीलाई बिल जडान गर्ने नाममा कमसल मेसिन भित्र्याएर राज्यको रु १४ करोड विदेशिएको भन्दै मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ ।
हाल काठमाडौँ उपत्यकामा नौ हजार ५०० ट्याक्सी सञ्चालनमा छन् ।
यस्तै नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधिको संयुक्त टोलीसमेत अनुगमनमा खटिएको छ ।
उक्त टोलीले गुडिरहेका ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटरमा गुडिरहेको छ की छैन् भनेर अनुगमन गर्नेगर्छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजु सात हजार ३०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको बताउँछन् ।
“विभिन्न कम्पनीका मेसिन बजारमा आएका छन्, कमशल मेसिन जडान गर्दा चाँडै बिग्रेको हो,”- प्रमुख ध्वजुले भने ।
ध्वजुले प्रत्येक मिटरमा वारेन्टी रहेकाले तत्काल नबिग्रिने उल्लेख गरे ।
उनले ट्याक्सी उपयोग गर्ने यात्रुलाई बिल लिनुपर्छ भन्ने जनचेतना फैलाउनु जरुरी रहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्