
काठमाडौं, असार १८ । काठमाडौं महानगरपालिकाका सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरिएको छ ।
जडित इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
करिब तीन महिनाअघि कामपा र वल्र्ड लिंक कम्युनिकेसन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ ।
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो ।
हनुमानढोका र बालाजुमा नागरिक बढी आउने–जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएकाभन्दा धरै एमबीपीएस क्षमताको इन्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले राससलाई जानकारी दिए ।
उनकाअनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ ।
सबै स्थानमा गरी दैनिक २०० नागरिकलेमात्र उक्त इन्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । प्रयोगकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताए ।
यसअघि कामपाले रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्