८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


महाभारतकी कुन्ती–१६


0
Shares

-हरिविनोद अधिकारी

अहिले पनि माद्रीको त्यो करुण अनुहार सम्झन्छु । उनलाई पतिकी प्यारी भएर संसारलाई देखाउन जुन लालसा थियो, त्या मातृवात्सल्यभन्दा धेरै गुणा माथि थियो । कृष्णले अर्जुनलाई युद्धका बिचमा दिएको ज्ञानको सारझै थियो । अरु कुनै लालसा देखाइनन्, मात्र पतिकी प्यारी हुने र सती गएर पतिको सेवा गर्ने मात्र अकाट्या भाव उनमा थियो, त्यसैले जिउँदै चितामा डढ्ने जस्तो अकल्पनीय पीडालाई स्वेच्छिकरुपमा सहर्ष स्विकारिन् ।

मैले भनेकी थिएँ-म उमेरले पनि र विवाहको हिसाबले पनि जेठी हुँ , त्यसैले सती जाने कुरामा मेरो हक लाग्छ । तिमी छोराहरुलाई हुर्काऊ, राज्य गर्ने लायक बनाऊ । मैले अन्तिम समयमा महाराजको दर्शन गर्न पनि पाइँन र उहाँको अन्तिम इच्छा पनि थाहा पाइन । तिम्रा माइतीहरु पनि ठूला देशका हुन् र तिम्रो कुरालाई हस्तिनापुरले गम्भीरताका साथ लिने गरेको पनि छ ।

तर माद्रीले ठाडै मेरो कुरालाई अस्विकार गरिन् र ढिपी गर्न थालिन् अनि मृत्युसँग निर्भय भएको जस्तो गरी स्पष्ट भनिन्–अब म कुनै पनि हालतमा यो संसारमा बस्दिन किनभने मेरो असावधानीले गर्दा आज महाराजको अवसान भयो । यो मेरालागि कलङ्क हो एकातिर भने मैले यी छोराहरुलाई महाराजको अनुपस्थितिमा कुनै पनि प्रकारको राजकीय प्रशिक्षण दिन सक्दिन । जब जब उहाँको अति सन्तुष्ट अनुहारको सम्झना आउँछ अन्तिम समयमा, त्यसले पनि मलाई उहाँसँगै जान प्रेरित गरेको छ । अनि मैले लाजै नमानीकन सोधेँ-बहिनी, त्यस्तो कस्तो अनुहार देख्यौ र महाराजको अन्तिम समयमा ?उहाँ कसरी त्यसरी अत्यन्तै सन्तुष्ट हुनुभयो ? उनले कुनै लाजै नमानीकन, दृढताका साथ भनिन्दि-दी, म कुनै फूल खेलाई रहेकी थिएँ, अलिकति असावधानीले मेरो माथिल्लो भाग खुलेको रहेछ र उहाँ परैबाट त्यही नियाल्दै अत्यन्त भोको आँखाले मलाई नियाल्दै कामातुर महिष आफ्नी महिषीतिर लम्केझैँ आउँदै हुुनुहुँदो रहेछ । यस्तोसँग मलाई चेप्नु भयो कि म कतै उम्कन पनि पाइँन र मलाई उहाँबाट त्यस्तो आलिँगन यो भन्दा पहिले कहिल्यै भएको पनि थिएन । म पनि कामदेवको तिरले ग्रसित भएकी रहेँछु किनकि आफ्ना पतिसँग एक्लै बनमा ,उद्यानमा र कोही पनि देख्ने नभएको ठाउँमा म र उहाँ थियौँ । उहाँले त मृत्युको भयमा बाँच्दाबाँच्दै मृत्युलाई नै जितेको जस्तो लाग्न थालेको थियो केही समयदेखि । तपाईँसँग त उहाँ डराउनु हुन्थ्यो तर मलाई जहिले पनि भोको आँखाले हेरेको मलाई थाहा थियो । मैले पनि अश्विनी कुमारसँगको रति व्यवहारले नयाँ अनुभव बटुलेकी थिएँ र बारम्बार त्यहीमात्र सम्झन्थेँ जब महाराज मप्रति भोको आखाले हेर्नुहुन्थ्यो । मलाई भन्दा पनि कामदेवको तिरको बशमा आफू परेको थाहै नपाई र परिणामका वारेमा पटक्कै वास्ता नगरी मलाई यसरी अंचेट्नु भएको थियो कि मैले एकैपटक उहाँको मुखबाट फिंज काडिएको र अति सन्तुष्टिको भावमा स्मित भएकी पाएँ । अनि मलाई पनि तपाईँले बारम्बार सम्झाएको सम्झेँ र धुकधुकी छामेँ दिदी । अब धुकधुकी त थिएन तर अत्यन्त हर्षित भावको अनुहार महाराज हुनुहुन्थ्यो । दिदी ऋषिको श्राप पुग्नु थियो, पुग्यो । जब तपाईं जिद्दी नगर्नुस्, म नै सती जान्छु । जुन काम सन्तुष्टि मैले महाराजबाट पाएँ, त्यसैको आलोकमा हामी स्वर्गमा पनि कुनै श्राप विना, कुनै रीस राग र द्वेष विना नयाँ जीवन बाँच्ने छौँ दिदी । मलाई त्यो स्वर्गीय आनन्दबाट तपाईँले वञ्चित नगर्नुस् । न म हस्तिनापुरमा गएर लड्न भीड्न सक्छु, न म राजकीय शिक्षा दिन सक्छु, न म पितामह, जेठाजुसँग गएर अधिकार माग्न सक्छु । हाम्रा छोराहरु आफैँमा वीर, वलबाहु छन्, तपाईंलाई साह्रै मान्छन् र वास्तवमा मैले तपाईँको आज्ञा शिरोपर गरेर नकुल र सहदेवलाई जन्ममात्रा दिएकी हुँ, वास्तविक आमा तपाईं नै हो ।

उनले मानिनन् र सती गइन् । मलाई पनि उनको कुरा हो जस्तै लाग्यो । मानवीय स्वभाव कस्तो हुँदो रहेछ भने जस्तोसुकै पीर परे पनि दायित्वलाई बिर्सन सक्दो रहेनछ । मैले पनि सिंहका बच्चा पाएकी थिएँ, कसरी तिनलाई वनको राजा हुने लायक बनाउनु त थियो नै । बनाएँ । कहिलकाहीँ नकुल र सहदेवमात्र काकतालीले सँगे हुँदा पनि मलाई कहीँ मेरा तर्फबाट, उनीहरुका दाजुहरुका तर्फबाट कतै कुनै मायामा कमी भयो कि र तिनले पिता माताको सम्झना गरे कि भन्ने कुरामा सधैं हामी सतर्क हुन्थ्यौं । त्यस्तै भएछ नि त वनवासमा ।

एकपटक धर्मराजलाई युधिष्ठिरको परीक्षा लिन मन लागेछ । जस्तोसुकै दुःख र सुखमा पनि धर्मबाट विचलित हुनुहुँदैन भन्ने मान्यतालाई जीवनको अन्तिम सत्य मान्ने युधिष्ठिरमा यो राज्य विहीनता, आफ्नै जेठाबाबुबाट, भाइहरुबाट, आफन्तबाट राज्यमात्र छिनिएको होइन कि १२ वर्ष वनवास र अर्को एकवर्षचाहिँ गुप्तवास बस्नै पर्ने दण्डलाई कसरी लिएको रहेछ, एउटा राजा योगीको जस्तो भेष धारण गरेर बस्दा, आपतकाल र दुःखले कस्तो बनाएछ, भावी दिनमा कसरी अगाडि बढ्ला भन्ने परीक्षा लिनका लागि एउटा जंगलमा पानीका लागि भौँतारिएका बेला पार्नु भएछ । यक्षका रुपमा धर्मले लुकेर केही परीक्षा लिन यस्तो गर्नु भएछ रे । मलाई द्रौपदीले भनेकी थिइन् यो कुरा ।

तिर्खाले सबै आकुल व्याकुल भएका थिए रे । युधिष्ठिरले पानी खोजेर ल्याउनका लागि पहिले सहदेव गएछ, उसलाई लुकेको कुनै यक्षले पानी नखाउँ, न लैजाऊ मेरा केही प्रश्नहरुका उत्तर दिएर मात्र पानी प्रयोग गर्नू भनेको कसैले पनि केही उत्तर दिएनन् र पानी खाने बित्तिकै मूच्र्छा परेछन् । पालैसँग सबै मूच्र्छा परेको कुरा एकले अर्कोलाई भन्न पनि सकेनन् किनभने जसले यक्षको प्रश्नको उत्तर दिएन , त्यसले पानी छुने बित्तिकै मूच्र्छा परिहाल्थ्यो रे । अन्त्यमा युधिष्ठिर गएछ रे र पानी छुन आँट्दा नै फेरि आकाशवाणी जस्तै गरी कहीँ नजिकैबाट यक्षको आवाजले प्रश्नको उत्तर नदिए तिम्रा भाइहरु जस्तै तिमी पनि मूच्र्छिन हुने गरी भनेछ रे यक्षले । अनि युधिष्ठिरले एउटा न्यायप्रेमी राजाले गर्ने जस्तै गरी अदृश्य प्रश्नकर्तालाई प्रश्न सोध्न र तिनको यथासम्भव उत्तर दिन राजी भएछ ।

केही प्रश्नहरु यस्ता थिए रे-आमा के हो ? भन्दा पृथ्वी भनेछ रे । बाबु नि ? भन्दा आकाश भनेछ रे । अनि सबै भन्दा चन्चल के नि ? भन्दा मन भनेछ रे । त्यस्ता धेरै प्रश्नहरु गरेपछि अन्तमा सोधेछ रे यक्षले-तिमीलाई के देख्दा यो संसारमा अचम्भ लाग्छ ? अनि युधिष्ठिरले भनेछ रे–मान्छेले यो संसार अनित्य भन्ने थाहा पाएको छ, अहिले मान्छे मरिरहेको छ, हिजो पनि मरेकै थिए र भोलि पनि मर्ने पक्का छ र तर किन अपराध गर्छ, लोभ गर्छ र एकदिन मर्ने चोलामा किन मर्नुपर्छ भन्ने नदेखेको होला भन्ने कुरामा मलाई अचम्भ लाग्छ ।

वास्तवमा त्यो यक्ष थिएन, उनी त स्वयं काल अथवा धर्मराज थिए , युधिष्ठिरका भौतिक पिता । तर यक्षका रुपमा नै उनले भनेछन्–म तिमीसँग सन्तुष्ट भएँ, मेरो कुरा नमानेर तिम्रा भाइहरु अद्र्धमृत भएका छन् , मानौँ मरेतुल्य नै छन् । यदि मैले यीमध्ये एउटालाई मात्र तिमीलाई फिर्ता दिन्छु भनेँ भने कोचाहिँ मृत्युको मुखबाट ब्युँझियोस् भन्ने ठान्छौ ? भन्दा युधिष्ठिरले भनेछ-नकुल । यक्ष अचम्भित हुँदै प्रश्न गरेछन्कि-न ? भीमसेन जस्तो भाइ छ, अर्जुन जस्तो भाइ छ आफ्नै आमा कुन्तीबाट जन्मिएका । विश्वविजयी । भोलि त तिमीले कौरबसँग लड्नु छ ,विश्व विजय गर्नु छ, अनि किन नकुलको मात्र जीवित रुप खोजेको ?

युधिष्ठिरले भनेछ-कुन्तीका तर्फबाट त म अझै जीवित छु, माद्री आमाका तर्फबाट नकुल भयो भने हामी दुवै आमाका सन्तानले राज्य गर्नेछौँ । अनि यो सुन्दा धर्मराजले आफू साक्षात्कार भएर भन्नु भएछ—क्याबात छोरा, मलाई आज तिमीसँग गर्व लाग्यो । कति न्यायका कुरा गर्‍यौ । आशीर्वाद छ । कुनै पनि भाइ मरेका छैनन्, अब हातमा पानी लिएर छम्क । सबै मूच्र्छाबाट ब्युतिने छन् । नभन्दै पानी छर्केपछि सबै ब्युँतिए । अनि नकुल भन्थ्यो रे ठुल्दाजुले मलाई पो बढी माया गर्नु हुँदो रहेछ भनेर । तर अरु भाइले त्यस्ता कुनै नकारात्मकता देखाएनन् किनभने युधिष्ठिरको न्यायप्रेम र भ्रातृप्रेमका वारेका कसैलाई शंका थिएन । त्यसपछिका दिनहरु ……। यो अन्तिम बेलामा मलाई किन पुराना कुराहरु याद आएका होलान् । क्रमशः