
कञ्चनपुर, असार १९ । महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले महाकाली पुलमा चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाएको छ ।
नदीमा पानीको बहावले खतराको चिन्ह नाघेपछि भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ ।
आइतबारबाट परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ४५ हजार ७ सय ८ क्यूसेक पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
महाकाली नदीको बाढीको पूर्वामानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ ।
पहाडी जिल्लामा सामान्य वर्षा भएका कारण महाकाली नदीको बहाव सामान्य रहे पनि कञ्चनपुरमा भएको वर्षाका कारण शारदा व्यारेजमा पानीको बहाव बढी देखिएको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दार्चुलामा अहिले पानीको सतह ४ मिटर छ । दार्चुलामा ५ मिटर ८० सेन्टीमिटर नाघे चेतावनी र ७ मिटर नाघे खतराको संकेत मानिन्छ ।
त्यसैगरी, डडेल्धुराको परी गाँउमा ६ मिटर ५० सेन्टीमिटर नाघे खतरा मान्ने गरिएकोमा अहिले पानीको बहाव ४ मिटर ९ सेन्टीमिटर रहेको छ ।
नदीमा पानीको बहाव बढेसँगै महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्