
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र सेभ द चिल्ड्रेनले काठमाडौं र पोखरामा गरेको अध्ययनले हेपाटाइटिस–‘सी’को संक्रमण बढ्दै गएको तथ्यांक देखाएको हो ।
पोखराका २१ प्रतिशत पुरुषले असुरक्षित सूईमार्फत लागुऔषध प्रयोग गरेका कारण हेपाटाइटिस–‘सी’को संक्रमण भएको जनाइएको छ ।
यस्तै, काठमाडौंमा १८.९ प्रतिशत पुरुषमा हेपाटाइटिस–‘सी’को संक्रमण देखिएको पनि अध्ययनले देखाएको छ । काठमाडौंका ८.५ प्रतिशत पुरुषमा एचआईभीको संक्रमण देखिएको र ७.३ प्रतिशत पुरुषमा एचआईभी र हेपाटाइटिस–‘सी’ दुवैको संक्रमण देखिएको अध्ययनले देखाएको छ ।
पोखराका ४.९ प्रतिशत पुरुषमा एचआईभी संक्रमण भेटिएको छ भने ३.४ प्रतिशत पुरुषमा एचआईभी र हेपाटाइटिस–‘सी’ दुवै रोगको संक्रमण भेटिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.तरुण पौडेलले जानकारी दिएका छन् ।
यस्तै, काठमाडौंमा ६.२ प्रतिशत पुरुष समलिंगी र तेस्रोलिंगीले असुरक्षित सूई प्रयोग गरेका कारण एचआईभिको संक्रमण देखिएको अध्ययनले देखाएको छ ।
एचआईभीको भन्दा हेपाटाइटिस–‘सी’को संक्रमण बढी भेटिएकाले राष्ट्रिय रुपमा नै जनचेतना फैलाउनु जरुरी भएको पनि कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्