
वरिष्ठ नेता पौडेललाई पार्टी सभापति शेरबहादुर देउवा अलिकति ‘सेल्फसेन्टर्ड’जस्तो लाग्छ र त्यसो हुनुमा उनका वरिपरिका मानिसको पनि प्रभाव छ भन्छन् पौडेल ।
“मान्छेको वरिपरि कस्ता मान्छेहरु हुन्छन् त्यसले पनि मानिसलाई फसाउँछ । आफू सरल ढंगले जान्छु भन्दाभन्दै पनि अरुले स्वार्थलाई उचाल्दिएर भ्रमित पनि गरिदिन सक्छन्”–यस्ता कुराबाट नेता जोगिनुपर्ने पौडेलको ठम्याइ छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा पहिलो पार्टी भएको नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा दोस्रो भएकोमा पौडेले निकै चिन्तित देखिन्छन् । यो विषयलाई उनले वैशाख ३१ गतेको निर्वाचनपछि बसेको पार्टी पदाधिकारी बैठकमै गम्भिरतापूर्वक उठाए । तर, पार्टी सभापति देउवाले त्यसलाई गम्भीरतापूर्वक नलिएकाले अब पार्टी कता जाने हो भन्ने चिन्ताले छट्पटिएका छन् ।
“पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टीबाट दोस्रो भयो । दोस्रो चरणमा त्यसलाई हामीले सुधारौंला भन्ने विश्वास थियो । तर, दोस्रो चरणको परिणाम हेर्दा हामीले सुधार गर्न सकेनौं । यो हाम्रो लागि चिन्ताको विषय हो”–उनले भने ।
जनतालाई पार्टीले कत्तिको प्रभावित पार्छ ? के सन्देश दिन्छ ? उम्मेदवार के–कस्तो दिन्छ ? जनतासँग कत्तिको सान्ध्यिमा गएर काम गर्छ ? यी विषयहरुले जनतामा असर पार्ने भन्दै अब कांग्रेस सच्चिनुपर्ने उनी बताउँछन्–“उम्मेदवार छनोटकै विषयमा हामीले राम्ररी काम गर्न नसकेको भन्ने गुनासो थियो, त्यसलाई परिणामले पुष्टि गर्दैछ । यसकारण म पार्टी शुद्धिकरणको पक्षमा छु ।”
असार १४ को स्थानीय तह निर्वाचनका बेला सत्ताको नेतृत्व आफ्नै पार्टीले गरेको भएपनि त्यसले जनतामा आकर्षण पैदा गर्न नसकेको र माओवादीसँग मिलेर प्रचण्डको नेतृत्वमा सरकारमा गएका बेलापनि कांग्रेसका गतिविधिले जनतलाई प्रेरित गर्न नसकेको उनको ठहर छ–“सरकारमा रहेको कांग्रेसले जनता र कार्यकर्तामा केही आकर्षण र उत्साह दिनुपर्ने थियो, त्यो हुन सकेन । अहिले हाम्रै नेतृत्वमा सरकार बनेपछि पनि हामीले कुनै खासै सन्देश दिन सकिरहेका छैनौं ।”
पार्टी सन्चालन पद्धतिबाट खिन्न देखिनु भएका वरिष्ठ नेता पौडेल बीपी, गणेशमान, सुवर्णशम्शेर, किशुनजीजस्ता नेतृत्वको आदर्शलाई पटक–पटक सम्झिरहेका हुन्छन् । अहिले पनि जनताले कांग्रेसको नेतृत्वबाट त्यस्तै आर्दशको अपेक्षा राखेको उनको बुझाइ छ । तर, आफूहरुले त्यसो गर्न नसकेको, मूल्य–मान्यता र निष्ठाको राजनीति छाडेर जसरीपनि सत्ता प्राप्त गर्ने, शक्ति हत्याउने क्रियाकलापले पार्टीलाई क्षति पुगिरहेको ठहर छ उनको ।
“नेपाली कांग्रेस, नेपाली कांग्रेसजस्तो हुुनुपर्यो । अहिलेको नेतृत्वले जनता र कार्यकर्तालाई प्रेरणा दिनेगरी प्रस्तुत हुन नसकेको कुरालाई हामीले मान्नुपर्छ । कुनै योजना, कल्पना, आकर्षण नभइकन केवल साम, दाम, दन्ड, भेदले सत्ता चलाउने कुराले जनतालाई प्रेरित गर्दैन”–उनी भन्छन् ।
कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विगतको कार्यसम्पादनलाई लिएर धेरैमा आशंका छ । ‘विगतमा यिनले चुनाव गराउन नसकेकै हुन्, प्रजातन्त्र लगेर दरबारमा बुझाएकै हुन्, अहिले पनि यिनले चुनाव गराउन सक्दैनन्, के गर्छन्–गर्छन्’ भनेर आशंकायुक्त टिप्पणी भइरहेका छन् । यी टिप्पणीहरुको एउटै जवाफ अब बाँकी स्थानीय तह निर्वाचन, प्रदेश र संघको निर्वाचन सफलतापूर्वक समयमै सम्पन्न गराएर संविधान कार्यान्वयनमा लैजानु हो र यसले नै उनको विगतको गल्ती माफ हुन्छ ।
संविधानले वर्तमान व्यवस्थापिका–संसदको आयु आउँदो माघ ७ गतेसम्मका लागि तोकिदिएको छ । त्योअगावै प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसक्नुपर्छ । नत्र संविधान कार्यान्वयनमा लैजान समस्या पर्छ र सरकार एवं शासन प्रणालीको वैधानिकतामाथि पनि प्रश्न उठ्छ । तर, नेपालको भौगोलिक र मौसमी प्रतिकुलताका कारण दलहरुले माघ ७ गतेसम्मको हदम्याद पनि उपयोग गर्न पाउँदैनन् । किनकी मंसिर १५ उता जाडो र हिमपातका कारण निर्वाचन गराउन सकिँदैन भनेर निर्वाचन आयोगले मंसिरको पहिलो हप्तासम्मको समय मागेको छ र त्योभन्दा अगाडि पूरा गर्नुपर्ने चुनौतीहरु धेरै छन् । यस्तो चुनौतीपूर्ण समयमा प्रधानमन्त्री बनेका देउवाले भने पार्टीभित्रै विश्वास कायम गर्न सकेका छैनन् ।
कांग्रेसको १३औं महाधिवेशन भएको एक वर्षभन्दा बढी भइसक्यो । तर, पार्टीको केन्द्रीय समिति पनि अहिलेसम्म पूरा हुनसकेको छैन । पार्टीका निकायहरुले पूर्णता पाएका छैनन् ।
“पार्टीको नीति, विधान र परम्परा छ । सोहीबमोजिम पार्टी र सरकार चल्नुपर्यो । यदि चल्न नसकेमा त्यसले पार्टीभित्र राम्रो गर्दैन । हामीले व्यवहारले नै लोकतान्त्रिक भएर देखाउनुपर्छ” भन्ने वरिष्ठ नेता पौडेलको धारणा छ–“पहिले म गिरिजाबाबुको पालामा पनि भन्थें यो, पार्टी कब्जा गरेरमात्र हुँदैन जनताको मन कब्जा गर्नसक्नुपर्छ ।”
पार्टीभित्रैकै विवाद मिल्न नसकिरहेका बेला कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएपछि विवाद झन् चुलियो । विवादकै कारण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पदको शपथग्रहण समारोहमा नजाने निर्णय गर्यो ।
“पार्टीको संसदीय बोर्ड बनेको छैन । त्यो बनाउने प्रस्ताव नै बैठकमा आउँदैन । ल पदेन जति बसेर निर्णय गरौनभन्दा त्यो पनि हुँदैन”–भन्छन् वरिष्ठ नेता पौडेल–“शेरबहादुरजीले सरकारमा सामेल हुने विषयमा म फलान–फलानालाई लान्छु भन्नुभयो । मैले तपाइँ त्यसै गर्ने हो त ? त्यसो हो भने विकल्प सोच्नुपर्ला भनेको थिएँ ।”
पार्टी सभापित देउवा अलि उग्ररुपमा कुरा नराखेसम्म सुन्दै नसुन्ने, अलिकति हेपेर जान खोज्ने चरित्रको भएको ठम्याइ पनि छ वरिष्ठ नेता पौडेलको–“अलिकति उहाँको स्वभाव त्यस्तै हो कि क्या हो ? तपाइँ के हो ? भनेर अलि कडा गरी भनेपछिमात्रै, ल त ल भन्ने उहाँको बानी छ । सुरुमा अलिकति हेपेर जाने ।”
पार्टीको केन्द्रीय समितिले कुनैपनि उम्मेदवार चयन गर्दा वा मन्त्रिमन्डलको व्यक्ति चयन गर्दा एउटा नीतिगत निर्णय गर्ने र त्यसपछि संसदीय बोर्डले व्यक्तिगत निर्णय गर्ने प्रचलन नेपाली कांग्रेसमा छ । तर, यी प्रक्रियाहरु पालना नभएका र सरकारमा सबैलाई मिलाएर लैजाऊँ, अलिकति पार्टीभित्र जसको योगदान छ, तिनीहरुलाई नछाडौं । एउटा मापदन्ड बनाऊँभन्दा पार्टी सभापतिले नसुन्ने गरेको उनको गुनासो छ ।
“गिरिजाबावुले पार्टी सन्चालन गर्दा सल्लाह लिनुहुन्थ्यो । उहाँको बिहानको चियामा शेरबहादुरजी, मलगायत सबै उपस्थित हुन्थ्यौं, सरसल्लाह हुन्थ्यो । मिटिङ बोलाइन्थ्यो । त्यो परम्परा अहिले टुटेको छ । समग्रमा हाम्रो पार्टी सन्चालन ठिक भएन । म गएर सम्बन्धित सबै विषयमा सभापतिलाई सुझाव दिन्छु तर त्यो कार्यान्वयन हुँदैन ।”
यस्ता कुराले पार्टीलाई क्षति पुगेको र जसरी कांग्रेस बनेर आएको हो, त्यो बाटोबाट विचलित भएको भन्नुपर्ने भइसकेको छ भन्छन् उनी । शेरबहादुर देउवा पार्टी सभापति भएकाले उनले गरेको गल्तीको दन्ड आफूलगायत सबैले व्यहोर्नुपर्ने भएकाले अलिकति सच्चिएर जाऊँ, विगतको गल्ती नदोहोर्याऊँ भनेर वरिष्ठ नेता पौडेल लगातार सुझाव दिइरहेको बताउँछन् ।
पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा नेकपा एमालले आच्छु–आच्छु पारेको महसुस गरेका छन् उनले–“हाम्रो ढिलासुस्तीको फाइदा एमाले र माओवादीले लियो । त्यही सरकारमा बसेर माओवादीले कति फाइदा लिएको छ । माओवादी बिलायो भनेको पार्टी अहिले त्यत्रो स्थानीय तहमा जितेको छ । अरु पार्टीले आफ्नो स्थिति सुधार्दै आउने हामीले गुमाउँदै जाने ?”
पार्र्टीको क्षयीकरण देखिरहेका वरिष्ठ नेता पौडेल यसलाई रोक्न तत्काल हस्तक्षेपको आवश्यकता देख्छन् । यसका लागि पार्टी सन्चालन पद्धतिमा सुधार ल्यानुपर्ने, पार्टी र सरकार सन्चालनमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने, सभापति आफैंले पहिले भन्ने गरेको एक व्यक्ति एक पद भन्ने सिद्धान्तलाई मनन् गर्नुपर्ने उनको ठम्याइ छन् ।
“कसरी चल्नुहुन्छ त्यो हेर्ने हो, तर म भन्न चाँही छाडदिनँ । शेरबहादुरजी आफैंपनि एक व्यक्ति एक पद भन्नुहुन्थ्यो त्यो अहिले उहाँले सम्झनुपर्यो । मैलेभन्दा फरक अर्थ राख्ला”–उनले भने ।
पार्टीले गुमाएको जनमत, कार्यकर्ताका गुनासा, पार्टी पद्धतिमा आएको क्षयीकरणलगायत सबै कुराहरु पार्टी बैठकमा वरिष्ठ नेता पौडलेले उठाइरहेका छन् । तर, सभापतिले सुन्न नचाहेको उनको बुझाइ छ–“तर अब त्यो अवस्था छैन । अब परिस्थिति धेरै गम्भीर भइसक्यो । अब सुन्नैपर्छ अब पनि नसुन्दा त पार्टी डुब्छ । योभन्दा बढी गल्ती गर्ने छुट अब हामीलाई छैन । नत्र जनताले विकल्प खोज्छ ।”
पहिला–पहिला तत्कालीन पार्टी सभापति शुशील कोइरालाले ‘शेरबहादुरले गर्दा मैले काम गर्न पाइनँ’ भनेर गुनासो गरेको सम्झना सुनाउँदै वरिष्ठ नेता पौडेलले आफूले अहिलेसम्म त्यस्तो गुनासो गर्ने अवस्था नदिएको र सभापतिले काम गरुन्, कार्यसमितिमा प्रस्ताव ल्याउन छलफल गराउन् भन्ने अपेक्षासहित रचनात्मक सुझावहरु दिन तयार रहेको बताए–“कहिले पनि अप्ठयारो पारेर ठिंगुर्याउने काम गर्ने छैनौं । सहयोग नै गरेको छु किनभने पार्टी र लोकतन्त्रको सवाल हो । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुँदा मुलुकै कमजोर हुन्छ । यसकारण यो कुरा मुलुकको भविश्यसँग जोडिएको हुन्छ ।”
पार्टी सभापतिसँग धेरै गुनासो भएपनि नेपाली कांगे्रसका बहुमत कार्यकर्ताले विश्वास गरेको सभापतिलाई आफूले अविश्वास गर्ने बेला भने नआएको बताउँछन् उनी । “मैले त प्रश्न गर्ने हो, सुझाव दिने हो, दिइरहन्छु र पार्टीको मञ्चहरुमा उठाइरहन्छु । यदि भएन भने सार्वजनिकरुपमा पनि जानुपर्ने स्थिति आउछ । उहाँ आफैंले बुझ्नुपर्छ । उहाँ अब केटाकेटी हैन । चारपटक प्रधानमन्त्री भइसक्नुभयो । मैले त चार–चारपटक प्रधानमन्त्री हुने आधार के भनेर पनि कुरा उठाएको थिएँ । तर, उहाँ बोल्नुभएन ।”
भोलि आफैं पार्टीको मुख्य पदमा पुगे वरिष्ठ नेता पौडेलले पार्टी कत्तिको पद्धतिमा चलाउलान्, गुट–उपगुटबाट कति माथि उठ्लान् त्यो त समयले नै बताउँछ । पटक–पटकको प्रयासमा पनि प्रधानमन्त्री बन्न नसकेको, पार्टीभित्र पकड बनाउन नसकेको कुराले आफ्नै भविश्यप्रति चिन्तित भएर पनि सभापतिप्रति गुनासा धेरै गरेका हुन सक्छन् । तर, समग्रमा उनका कुरा मनन् गर्ने हो भने नेपाली कांग्रेस पार्टीको भविश्यका लागि र स्वयं सभापति देउवाका लागि पनि हितकर नै छन् ।
“अझैपनि उहाँलाई अवसर छ, अझैपनि गर्नुहोस् राम्रो सँग गर्नुहोस् । जस लिनुहोस् । सिंगो कांग्रेसको नेता हुने अवसर नगुमाउनुहोस् । सिंगो कांग्रेसको नेता हुन सक्नुहोस् मेरो यहि शुभेक्षा छ”–भन्छन् वरिष्ठ नेता पौडेल ।
प्रतिक्रिया दिनुहोस्