
राजधानीको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले उपचार गराउन आएका बिरामीको मिर्गौला निकालेको आरोप लागेपछि बिहीबार पत्रकार सम्मेलन गरी आफनो बचाऊ गरेको हो ।
नुवाकोटको विदुर नगरपालिकाका ३२ वर्षीय शिवप्रसाद रिमालले शल्यक्रिया गरेर मिर्गौलाको पत्थरी निकाल्नुपर्नेमा मिर्गौला नै निकालिएको जनाएपछि अस्पतालले त्यसबारे जानकारी गराएको हो ।
गत जेठ २४ गते रिमाल मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका थिए ।
मिर्गौलाको पत्थरी निकालीसकेपछि बायाँतर्फको मिर्गौला असामान्यरुपमा रहेकाले मिर्गौलाबाट रगत आउन थालेको उनको उपचारमा संलग्न चिकित्सक डा. गुणकुमार श्रेष्ठले बताए ।
विभिन्न उपाय गर्दा पनि रगत बग्नेक्रम नरोकिएपछि मिर्गौला निकाल्नुको विकल्प नरहेकाले बिरामीका आफन्तसँग कुरा गरी मिर्गौला निकालिएको डा. श्रेष्ठले दाबी छ ।
तर, बिरामीका आफन्तहरु भने मिर्गौला निकालेको दुई दिनपछिमात्र मिर्गौला निकाल्नुपर्छ भनी जानकारी दिएको दाबी गर्छन् ।
अस्पतालले आफूलाई थाहै नदिइ मिर्गौला निकालिदिएको र सो कुरा थाहा पाएपछि ‘तपाइँको माग के छ ?’ भन्दै सम्पर्कमा आएको बिरामी रिमाल बताउँछन् ।
एक वर्षअघि वैदेशिक रोजगारीबाट नेपाल आएका रिमालका श्रीमती र दुई छोरा छन् ।
बिरामीले अनुमतिबिना नै मिर्गौला भिकिदिएको दाबी गरेपछि अस्पतालले आफनो बचाऊका लागी हतार–हतार गोप्य ढंगले बिरामीसँग सम्झौतासमेत गरेको छ ।
सम्झौतामा बिरामी शिवप्रसाद रिमालको जीवनभर निःशुल्क उपचार गर्ने, आवश्यक परे मिर्गौला प्रत्यारोपण गरिदिने, उनकी श्रीमती रन्जु रिमाललाई आगामी साउन महिनाबाट अस्पतालमा रोजगारी दिने, दुई छोरालाई निःशुल्क पढाइदिनेलगायतका विषय उल्लेख छन् ।
तर, अहिले सम्झौता सार्वजनिक गरेको भन्दै अस्पतालले सम्झौता कार्यान्वयन नगर्ने बताएको बिरामी शिव रिमालको पत्नी रन्जु रिमालले बताएकी छन् ।
अस्पतालले भने सम्झौता भएको तीन सातापछि बिरामीका आफन्तहरुले फेरि यो विषय झिकेर विवाद सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।
मिर्गौलाको पत्थरीको शल्यक्रियापश्चात् मिर्गौला निकाल्न एक मिनेटमात्र पनि ढिलाइ भएको भए बिरामीको ज्यानसमेत जानसक्ने अवस्था रहेको चिकित्सकहरुको दाबी छ ।
जीवनरक्षाका लागि गरिएको काममा धन्यवादको साटो बदनाम गर्ने प्रयास गरिएको चिकित्सकहरुको गुनासो छ ।
आफूहरुले गरेको काम झुटो सावित भए कुनैपनि सजाए भोग्न तयार रहेको चिकित्सकहरुले बताएका छन् ।
बिरामीको आशाको केन्द्रकोरुपमा रहने अस्पतालले लापरबाही गरेको खबर आउँदासमेत यसमा सरकारले चासो देखाएको छैन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्