
काठमाडौं, असार १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना र प्रविधिको क्षेत्रमा सबैको पुहँच पुर्याउन सरकार लागि परेको बताएका छन् ।
सूचना र प्रविधि क्षेत्रको विकासमा दक्षिण एशियाली राष्ट्रहरुको भूमिका विषयमा काठमाडौंमा गरिएको कार्यक्रममा उनले सूचना र प्रविधिको पहुँच विस्तारका लागि सरकार दत्तचित्त भएर लागेको बताए ।
अझै पनि नेपालका ग्रामिण क्षेत्र सूचना र प्रबिधिको प्रयोगबाट बन्चित रहेको भन्दै सरकारले चाँडै सूचना राजमार्ग विस्तार र अन्य प्रविधिको क्षेत्रमा काम गर्ने बताए ।
सूचना र प्रविधिको क्षेत्रको विकासको लागि दक्षिण एशियाली राष्ट्रहरुको एकता आवश्यकता रहेको पनि उनको भनाई थियो ।
प्रविधिको प्रयोगमा अझै पनि लैगिक बिभेद रहेको भन्दै सरकारले प्रविधिको प्रयोग सबैकालागि सुनिश्चित गर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सबै जिल्लाका वडासम्ममा सूचनाको पहुँच पुर्याउन प्राधिकरण प्रतिबद्ध रहेको बताए ।
तीन दिने सम्मेलनमा दक्षिण एशियाली राष्ट्रका प्रविधि विज्ञहरुले अनुभवको आदानप्रदान गर्दै प्रविधिको क्षेत्रमा नयाँ रणनीति तयार पार्नेछन् ।
प्रतिक्रिया दिनुहोस्