
फाइल फोटो
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका लागि मध्य क्षेत्रको लागि केन्द्र ( हव) अस्पताल बनाएको हो ।
भरतपुर अस्पताल वरपरका सुविधासम्पन्न अन्य सरकारी तथा निजी अस्पताललाई स्याटलाइट अस्पतालको रुपमा तोकिएको छ । आवश्यकताअनुसार हव अस्पतालले स्याटलाइट अस्पतालसँग समन्वय र सहकार्य गर्ने बताइएको छ ।
विपद्का बेला स्वास्थ्य सेवा प्रदायक संस्थालाई समन्वय गराएर मानवीय क्षति कम हुनेगरी व्यवस्थापन मिलाइने भरतपुर अस्पतालका विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनका सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए ।
यसका लागि काम सुरु गरिएको उनले जानकारी दिए । जिल्ला दैवीप्रकोप तथा विपद् व्यवस्थापन समितिको निर्देशन र समन्वयमा काम गरिने सामाजिक सेवा एकाइका प्रमुखसमेत रहेका पौडेलले जानकारी दिए । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् तथा प्रकोप व्यवस्थापन समिति रहेको हुन्छ ।
प्राकृतिक विपद्को बेला उपचारका लागि भरतपुर अस्पताललाई हव बनाएपछि अस्पतालले दिने सेवालाई प्रभावकारी बनाइने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्रप्रसाद मरासिनीले बताए ।
२०७२ सालको भूकम्पमा भरतपुर अस्पतालले अन्य जिल्लाबाट आएका भूकम्प प्रभावित घाइतेको उपचार गरेको स्मरण गर्दै कुनैपनि बेला आउने विपत्तिको लागि उपचार व्यवस्थापनमा भरतपुर अस्पताल तयारी अवस्थामा रहेको बताए ।
विपत्तिको बेला काम गर्नका लागि मानसिकरुपमै तयारी रहन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले केन्द्रीय रिफरल अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई हवको रुपमा विकास गर्नाले गरिब जनताले राहत पाउने विश्वास व्यक्त गरे । अस्पतालमा विपद्को लागि दक्ष जनशक्ति रहेको भन्दै सबै अस्पतालसँग समन्वय गरेर काम गर्ने अध्यक्ष राजभण्डारीले बताए ।
जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिका लागि सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले सेवासँगै मन्त्रालयले विशेष किसिमको तालिम दिनुपर्ने सुझाव दिएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयमा विपद् व्यवस्थापनको लागि र्यापिड रेस्पोन्स टिम (आरआरटी) बनाइएको हुन्छ । यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने भन्दै सबै अस्पतालले उत्तिकै चासो दिनुपर्ने उनले बताए ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाले कार्यक्रमको आयोजना गरेको हो । महाशाखाकी नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । उनले विपद्को लागि योजनाबद्ध तरिकाले सबै निकायसँगको समन्वय र सहकार्यमा विपद् व्यवस्थापनको कार्य सहज हुने बताइन् ।
भरतपुर अस्पताललाई हव अस्पताल बनाएपछि यस आसपासमा विपद्मा परेका नागरिकले सहज सेवा पाउने दाबी गरिन् ।
देशकै मध्यभागमा रहेकाले छिमेकी जिल्लामा हुने दैवीप्रकोपबाट प्रभावित भएकालाई पनि सेवा दिन सहज हुने देखिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्