
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार राजधानीमा गरेको कार्यक्रममा सुरक्षित रक्त परीक्षण गरेर रगत दिए पनि १ प्रतिशत रगतमा विभिन्न रोगको संक्रमण भेटिने गरेको बताइएको हो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपनिर्देशक रमेश विक्रम सिंहले सुरक्षित रगत तथा रक्ततत्वहरुको परीक्षण नहँुदा हेपाटाईटिस बी, एचआईभीजस्ता रोग सरेको गुनासो आईरहेको भन्दै त्यसलाई छानविन गरी कारवाही गर्ने बताए । उनले प्रयोगशालामा परीक्षण गरेको रगतमात्र बिरामीलाई दिने गरेको तर त्यो रगत सुरक्षित नभएको भन्नेबारे छानविन गरिने बताए ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै परीक्षण गरिएको रगत बिरामीलाई दिने गरिएको भए पनि यस्तो समस्या देखा पर्ने १ प्रतिशत सम्भावना रहिरहने उपनिर्देशक सिंहको भनाइ थियो ।
कार्यक्रममा रक्त सञ्चार केन्द्रकी निर्देशक मनिता राजकर्णिकारले रोगको संक्रमण हुनेहरुलाई रक्तदान नगर्न आग्रह गरिन् । ब्लड बैंकका अनुसार गत बर्ष २ लाख ३० हजार पोका रगत संकलन भएकोमा ५ सय २९ पोका रगतमा हेपाटाईटिस सी र १ सय ४३ पोका रगतमा सिफलिस रोगको संक्रमण भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्