
प्रदीप पौडेल (इमेज)
पोखरा, असार १९ । सत्तारुढ दलभित्रै प्रदेशको नामाकरणका विषयमा सहमति नभएपछि प्रदेश नम्बर–४ को मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको छ ।
गत असार १० गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्पसहितको प्रतिवेदन सदनमा टेबुल गरेका थिए ।
त्यसपछि कुनै छलफल नगरी असार १७ गतेका लागि बैठक स्थगित भएको थियो ।
आइतबार र सोमबारको प्रदेशसभा बैठकमा राजधानीको विषयमामात्रै छलफल भयो र पोखरालाई सर्वसम्मतिले राजधानी घोषणा गरिएको छ ।
मंगलबार प्रदेशसभा बैठकमा नाममाथि छलफल गर्ने तयारी थियो । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यहरुबीच मतभेद देखिएपछि मंगलबारको बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको छ ।
प्रदेशसभा बैठक दुई दिनका लागि स्थगित गरिएको हो । विशेष कारणवश बैठक स्थगित गरिएको सूचना टाँसिएको छ ।
प्रदेशको नामाकरणका विषयमा अब २१ गतेमात्रै प्रदेशसभा छलफल चल्नेछ ।
सुझाव संकलन समितिले ‘गन्डकी’ प्रदेश अधिक जनताको प्राथमिकतामा परेको प्रतिवेदन बुझाएको छ । दोस्रोमा ‘तमुवान मगरात’ र तेस्रोमा ‘गोरखा’ प्रदेश सुझाव समितिले सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्