
विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालिको प्रांगणमा रहेको भेनस फार्मेसीको सञ्चालनमा रोक लगाउनाका साथै सिलबन्दी गरिदिएको छ ।
टोलीले सो फर्मेसीको दर्ता प्रमाणपत्रको नवीकरण तीन महिनादेखि नभएको, मूल्य नियन्त्रणभित्र पर्ने ग्रासिड नामक औषधि रु ६० पर्नेमा रु १२० मा बिक्री गरिरहेको, म्याद गुज्रेको औषधिलाई मितिको अंश हटाई औषधि बिक्री गरिरहेको तथा यसअघि फिर्ता गर्न आदेश दिइसकिएको औषधि फिर्ता नगरी बिक्री गरिरहेको पाइएको थियो ।
प्रदीप पोखरेल सञ्चालक रहेको भरोसा अस्पताल, सुभास भण्डारी सञ्चालक रहेको पूर्वेली फार्मेसी, सुमन सापकोटा सञ्चालक रहेको राजश्री मेडिकल हल, भरोसा डेन्टल क्लिनिक, गंगा हर्ट क्लिनिक प्रालि, क्युटिस प्रालि, श्रीस फार्मेसी र इलाइट फर्मा गरी कुल आठवटा फार्मेसी तथा अस्पतालको अनुगमनका क्रममा व्यवसायीले ग्राहकलाई दिइने बिल ऐन तथा नियमले निर्धातिअनुसार नराखेको, चिकित्सकको स्वीकृतिमा मात्र बिक्री गर्नुपर्ने लागुऔषधसम्बन्धी औषधिको दर्ता व्यवस्थित तरिकाले नराखेको पाइएकाले व्यवस्थित रुपमा राख्न निर्देशन दिइएको छ ।
साथै, ती औषधि पसलमा सप्लिमेन्ट्री औषधि नामक औषधि सम्बन्धित कम्पनीलाई फिर्ता गर्न पनि निर्देशन दिएको छ ।
त्यस अवसरमा टोली संयोजक अधिकारीले विभागले वर्षभरि नै नियमितरुपमा औषधि फार्मेसी तथा अस्पतालमा अनुगनम गर्दै आएका कारण धेरै सुधार देखिएको तरपनि केही औषधि फार्मामा म्याद गुज्रेको औषधि पाइएको, दर्ता प्रमाणपत्र देखाउन नसक्ने तथा दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको जानकारी दिए ।
उनले औषधि पसललाई म्याद गुज्रेको औषधि राख्ने छुट्टै व्यवस्था गर्न, बिक्री बिल कानुन र नियमले तोकेअनुसा र राख्न लगाउन, लागुऔषधसँग सम्बन्धित औषधि चिकित्सकको स्वीकृतिमा मात्र बिक्री–वितरण गर्न र त्यसको अभिलेख राख्न निर्देशन दिएको बताए ।
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत धिरज न्यौपानेले आफूले औषधि फार्मेसीको दर्ता, औषधिको म्याद गुज्रे-नगुज्रेको निरीक्षण तथा सप्लिमेन्ट्री औषधि फिर्ताको आदेश दिएको जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्चका सदस्य रामजी सापकोटाले सरकारले नियमित रुपमा अनुगमन भइरहेको कारण अधिकांश औषधि व्यवसायीले दर्ताको प्रमाणपत्र देखाएको, केही औषधि पसलमा म्याद गुज्रेको पाइएपनि पहिलेभन्दा सुधार भएको र कारबाही नै गर्ने अवस्थामा कमी आएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्