९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


जिब्रो त प्रायः चिप्लिरहन्छ नि हजुर !


39
Shares

– संजिव कार्की 

भन्नै हाड नभएको जिब्रो भनिन्छ । यो चिप्लनु, लर्बरिनु र तलमाथि हुनु सामान्य हो । मासुमात्रै र मासुमा पनि विशेष स्वादिष्ट मासु हुनुको कारण जिब्रो प्रायः चिप्लन्छ । चिप्लने जिब्रोको स्वाद चै कति मिठो, स्वादिलो र सधैं खाउँ–खाउँ लाग्छ भन्ने जान्न चै जिब्रोको परिकार पस्कने रेस्टुरेन्ट र सेकुवा घरहरुमा गएर यसका पारखीलाई सोध्दा थाहा लाग्छ । जे होस् जिब्रो बिचित्र कै हुन्छ । चाहे रेस्टुरेन्टको मेनुमा सजिएको पशुको जिब्रको भेराइटी होस् या मनुष्यको मुखमा रहेको हड्डी रहित मांसको पिण्ड ।

अझ, मान्छेको गरिमा जिब्रोले नै राख्छ र जिब्रोले नै मान्छेलाई मूल्यहीन र हल्काफुल्का सतही बनाउँछ । सामान्य मान्छेको जिब्रोको त मान्छेहरुले हिसाब किताब राखेका हुन्छन्, कस्तो बोल्यो, किन बोल्यो, किन बोलेन ! त्यसमाथि जनतालाई शासन गर्ने शासकहरुको बोलीको हिसाब जनताले एक एक गरेर राखेका हुन्छन्, जसको ब्याजसहित असुल उपर गर्ने उचित मौका जनताले चुकाउन चाँहदैनन् र चुनाव नामक सार्वजनिक सुनुवाई मार्फत जनताले अडिट गरिरहन्छन । जसको कारण पार्टीहरु बेरुजु बोकेर बस्छन् । कहिले कुन पार्टीको बेरुजु बढी हुन्छ त कहिले कुन पार्टीको । बेरुजु नबोक्ने पार्टी छैनन् । बेरुजुको आधारमा जनताले पार्टीहरुको हैसियत बनाई दिन्छन् ।

पार्टीहरु बेरुजु बोक्न कसरी बाध्य हुन्छन् भन्ने कुरा तिनीहरुको जिब्रोले निर्धारण गर्छ । पार्टीहरुको जिब्रो भनेको तिनले चुनाव बेला तयार गरेको घोषणापत्र हो अनि वरिष्ठ नेताहरुले जनतालाई दिएको आश्वासनको पोको हो । त्यतिमात्रै नभएर सत्ताको लगाम हातमा लिएर बस्नेहरुको बोलीको टुंगो र बेटुंगो हो । बोलीले कति आपत पर्छ भन्ने बुझ्न केहि समय अघि मन्त्री पद गुमाएका शेरबहादुर तामाङ र प्रदेश नं. ३ का तत्कालिन मन्त्री केशव स्थापितको मनोदशा बुझौं । बोल्न नजान्दा हालका पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीलाई कस्तो फसाद आइलाग्यो, त्यो सबैले देखे–जानेकै कुरा हो । यहि जिब्रोको गरिमा ख्याल नराख्दा तत्कालिन माओवादी संविधानसभाको दोश्रो चुनावमा कुन हैसियतमा पुग्यो ! उसै त बोलीमा समस्या भएका शेरबहादुर देउवा झन् बोल्न नजान्दा र बोलेको पुर्‍याउन नसक्दा अहिले कुन हैसियतमा छन्, कांग्रेसको हैसियत कहाँबाट कहा पुर्‍याए ! प्रश्न सोध्नेलाई तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर झपार्ने देउवा आज अरुले कानै उखेलीदिए पनि जवाफ फर्काउने र प्रतिबाद गर्ने स्थितिमा छैनन् । के यी सब दृस्टान्त जिब्रैको कारण बनेका हैनन् र ?

जिब्रो चिप्लेकै कारण एक पटक स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई ठुलै झमेला आइलाग्यो र आफ्नो जिब्रोको बचाउको लागि उनले ‘मैले भनेको पत्रकारले बुझेनन्, पत्रकारहरु अंग्रेजी बुझ्दैनन्’ भनेर पत्रकारको अंग्रेजी बुझ्ने क्षमतामा प्रश्न गर्दै बच्ने प्रयास भएको थियो । पार्टीहरुको जिब्रो तिनले लेखेको घोषणापत्र हो, त्यो घोषणापत्रले जे बोल्छ, त्यो गर्दैन । जे बोल्दैन, त्यो गर्छ । त्यसैले त्यो प्रतीकात्मक जिब्रोले बोलेको जनताले आफ्नो स्मृतिमा राखिरहन्छन् । नेताहरु बोल्छन् र बिर्सन्छन् तर जनता सबैकुरा विस्मृतिको गर्भमा फाल्दैनन्, स्मृतिको घेरामा जतन गरेर राख्छन् र चुपचाप जवाफ फर्काउछन् ।

जनताले जवाफ फर्काउन धैर्य गर्नुपर्छ निश्चित अवधि कुर्नुपर्छ तर आवधिक निर्वाचन भएसम्म जनताको विवेकले त्यतिधेरै गलत गर्दैन । जनता हिसाब देखाउँछन् र हिसाब माग्छन् । बोलीको कारण चुक्नेहरु, जथाभावी भुक्नेहरु त्यतिबेला जिल्ल पर्छन्, जतिबेला जनताले उनीहरुको बेरुजु फर्स्योट गर्न ताकेता गर्छन् । बोलीमा दम नहुनेहरु, आफ्नो बोलीमा अड्न नसक्नेहरुले जरुर एक दिन मूल्य चुकाउनुपर्ने हुन्छ, शिर झुकाउनु पर्ने हुन्छ । नबोल्नु बोली सकेपछि अडिनु, अडिन नसक्नेले बकबक नगर्नु । 

कुटनितिमा बोल्नुको अर्थ हुन्छ, नबोल्नुको पनि अर्थ हुन्छ, बढी बोल्नुको पनि अर्थ खोजिन्छ । तसर्थ कतिबेला कसरी र कुन प्रयोजनमा बोल्ने, नबोल्ने विचार गर्नुपर्छ । हतारो, हतासा र आवेगलाई कच्चानिति भनिन्छ । कुटनीति त अर्थपरक अनि लाक्षणिक हुन्छ । कुटनीतिमा लम्बाई र चौडाईको मात्र आयाम हुन्न, गहिराइको पनि आवश्यक अर्थ र स्थान हुन्छ । गहिराई भनेको विश्वास हो, जो डगमगाउन हुँदैन । मन लागेको बेला जति पनि बोल्ने र जे पनि बोल्ने त कहिकतै मनासिव लाग्दैन भने कुटनीतिक मर्यादा कायम गरेर बोल्नु पर्नेमा केटाकेटी टाउको ठोक्काए झैँ बाझ्नु र कोक्याउने गरी बोल्नु अनि फेरि एकले जिब्रो चिप्लियो भन्नु, अर्कोले होइन चिप्लिएको, जे बोलेँ सहि बोलेँ भन्नुले हाम्रो विश्वसनियता कतै भ्वांग त परेन ? 

प्रम ओलीको बुधबार भन्नुभयो, ‘भेनेजुएला बारेमा प्रचण्डबाट आएको मन्तव्य अलिकति स्लिप भएकै हो, भोलिपल्ट म आउँदै थिए, अघिल्लै दिन बक्तब्य नदिई नहुने त्यस्तो केहि कारण परेको थिएन, जुन भाषा प्रयोग भयो त्यो भाषा पनि अलि उपयुक्त भएन, त्यसले एउटा तरंग ल्यायो तर कुनै एकजना साथीले एउटा बक्तब्य दिनुभयो त्यसकै पछाडि देश देश बीचको सम्बन्ध र राष्ट्र राष्ट्र बीचको सम्बन्धहरु अडेका पनि हुँदैनन् ।’ 

प्रचण्ड बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै भन्नुभयो, ‘मंगलबार नेकपाको सचिवालयबैठकले समेत अमेरिकाको भेनेजुएलामाथिको हस्तक्षेपको बिरोधमा बक्तब्य जारी गरिसकेको छ । यसमा कुनै व्यक्तिको भनाइले केहि अर्थ राख्दैन ।’

अब विचार गरौं सत्ताधारी पार्टीका दुई अध्यक्षको यो जुहारी भित्रको अन्तर्निहित यथार्थ के हो ? कति सकस भयो त्यो हतारोले ? अनि कति मजा यो आङ कन्याईले ? यो आङको छारो उडाएर आज कसलाई रमिता भएको छ ? किन यत्रो अन्तरविरोध दुई अध्यक्षबीच ? दुई अध्यक्षले एकले अर्कोलाई एक व्यक्ति बोलेको भनेर जुन आक्षेप लगाइएको छ, यो कुटनीति भित्रको कुटनीति हो कि, वक्तब्य बचावट या एक अर्काको अस्तित्वप्रति पुरापुर अस्विकार ! पत्याउनेले सरकार प्रमुखको माफि मगाई पत्याउनु कि उही पार्टीका नेताको चेतावनी ? सहजै अनुमान गर्न सकिन्छ कति गहिरो मतभेद छ दुई नेताको शैली र सोचमा । सरकार सच्चिएर माफी माग्न तयार भयो र उपयुक्त शब्द ‘टंग स्लिप भएको’ भेट्टायो र भन्यो । तर ‘टंग स्लिप होइन पार्टीको जे धारणा हो त्यो त्यहि हो जुन हामीले आधाकारिक रुपमा पार्टी बैठकबाट पनि भन्यो, जे मैले भनेँ’ भनेर प्रचण्डले भन्नुभयो । विरोधाभाष व्यक्तिको हो या पार्टीको ? किन यति सतही र बेबकुफ लफ्फाजी ? हिजो प्रचण्डको बक्तब्य र पार्टीको पुनर्पुष्टी बक्तब्यले जति प्रभाव पार्थ्यो अब त्यो भन्दा बढी प्रभाव पर्ने निश्चित छ, कारण विश्वसनियताको सवाल हो ।

कुटनीति जान्नेहरू आलोकांचो कुटनीति र उत्ताउलो कुटनीतिले अन्ततः देशलाई मात्र हैन, त्यो कुटनीति प्रदर्शन गर्नेलाई पनि कालान्तरमा हैन वर्तमान मै घाटा पुग्ने बताउँछन् । संसार यस कारण पनि आश्चर्य चकित हुन्छ जहाँका सरकार प्रमुखको बोलीमा भर हुँदैन । आधिकारिक बक्तब्य कसको हो, अब एक अर्काको जुहारीपछि पुनः पार्टीले आफ्नो अडान दोहोर्‍याउला र खस्कदै गरेको आफ्नो साखमा नियन्त्रण गर्ला या अरु खस्काउला । जे होस् भेनेजुएला प्रकरणले नेकपाभित्रको आन्तरिक द्वन्दलाई अरु मलजल र छेडखान गर्न मद्दत पुर्‍याउँछ । पार्टीको एकीकरणले गति समाउन नसकेको बेला विश्वासको खाडल अरु फराकिलो र गहिरो भयो भने यो नेकपाको अहितमा हुने त छँदै छ, नेपाल र नेपालीको हितमा पनि पक्कै हुनेछैन ।