६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भेटियो बल्ने बरफ, विश्व इन्धन आपूर्तिमा नयाँ विकल्प


0
Shares

 

बीबीसी वर्ल्ड’काअनुसार चिनियाँ अधिकारीहरुले समुद्रको गहिराइभित्र प्रज्वलनशील बरफ भेटिनुलाई ऊर्जासंकटको विकल्प हुनसक्ने बताएका छन् ।

‘मिथेन हाइड्रेट्स’ नाम गरेको उक्त रसायन एकदमै लुप्त तर यसले प्राकृतिक ग्यासलाई भन्डारण गरेर राख्ने भएकाले चिसो बरफकोरुपमा सन्चित भएर बस्ने गर्दछ ।

विश्वका अधिकांश विकशित देशहरुले कैयौं वर्षदेखि मिथेन हाइड्रेट्स नाम गरेको प्रज्वलनशील बरफबारे अध्ययन गरेर निकाल्ने कोसिस गरिरहेका छन् । तर, उक्त रसायन निकाल्न निकै जटिल भएकाले उनीहरु सफल हुन सकेका छैनन् ।

बीबीसीले उल्लेख गरेअनुसार प्रज्वलनशील बरफ पानी र प्राकृतिक ग्यासको संयोजनबाट बनेको हुन्छ ।

नेसनल युनिभर्सिर्टी अफ सिंगापुरका आणविक तथा रासायनिक विभाग प्रमुख प्रा.प्रभिन लिंगाकाअनुसार प्रज्वलनशील बरफ देख्दामा क्रिस्टलजस्तो देखिएपनि नजिकबाट नियाल्दा त्यसमा रहेको आणविक तह देखिन्छ ।

मिथेन हाइड्रेट्सलाई पानीको स–साना कणहरुले छोपेर राख्ने भएकाले यो चिसो बरफ बन्ने र क्रिस्टलजस्तो देखिने गर्दछ ।

अत्यन्तै कम तापमान र उच्चचापको मुनि पाइने भएकाले समुद्रको गहिराइमा रहेको जमिनमुनिमात्र यस्तो बरफ फेलापार्न सकिन्छ र उत्खनन् गर्न निकै जटिल मानिन्छ ।

एक मिटर क्युबिक बरफ बराबर करिब १६० क्युबिक मिटरसम्म ग्यास फैलिने भएकाले यसलाई अतिप्रज्वलनशील इन्धन मानिन्छ ।