१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


हात्तीपाइले रोग: यस्तो छ २६ वर्षीय युवकको पीडा


0
Shares

लियु झोन्गक्यु नाम गरेका ती युवक चीनको फुजिंग सहरका वासिन्दा हुन् । उनले आफूलाई ‘अचम्म’को रोग लागेका कारण २० वर्षको उमेरदेखि आफ्नो जन्मदिन मनाउन नपाएको गुनासोसमेत गरेका छन् ।

लियुको खुट्टा हातीकोजस्तै छ । खुट्टा वरिपरिको मासु झोल्लिएका छन् । अहिले उनको खुट्टाको तौल करिब १५० केजी रहेको छ ।

चिकित्सकहरुले उनको यो रोग बिस्तारै संक्रमण भएर पूरै शरीरमा देखापर्ने बताएपछि उनले आफू झन् चिन्तित भएको बताए ।

चिकित्सकहरुको भनाइले आफूलाई निकै निराश बनाएपनि एकदिन आफ्नो खुट्टा ठीक भएरै छाड्ने उनको भनाइ छ ।

उनले भने–‘२० वर्षको उमेरदेखि मेरो हालत यस्तै छ, सात वर्ष भइसक्यो अझै ठीक भएको छैन ।’

लियुलाई सानो छँदा लामखुट्टेले टोकेपछि यो रोगको संक्रमण देखापरेको थियो ।

विश्व स्वास्थ्य संगठनकाअनुसार इलेफ्यान्टियसिस् (हात्तीपाइले) रोग लामखुट्टेको टोकाइबाट संक्रमण हुने प्यारासाइट जीवाणुको कारण लाग्दछ । यो संक्रमणजन्य रोग हो ।

प्यारासाइट नामक जीवाणुको संक्रमणले शरीरको लिम्फ्याटिक प्रणालीमा अवरोध गरेपछि लिम्फ्याटिक फिलारियासिस् (हात्तीपाइले) रोग देखिने गर्दछ ।

संगठनले संसारभरका करिब ७३ ओटा देशमा अहिले यो रोगबाट करिब १२ करोड मानिसहरु संक्रमित रहेको र एक अर्ब ४० करोड मानिसहरु संक्रमणको जोखिममा रहेको उल्लेख गरेको छ ।

लियु आफ्नो उपचारका लागि अहिले चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा आएका छन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार यस रोगको पूर्ण उपचार गर्न सकिँदैन । तर, शरीरका अरु भागहरुमा संक्रमण फैलनबाट भने रोक्न सकिन्छ ।

संक्रमण भएको भाग शल्यक्रियाबाट काटेर फालेपछि अरु भागमा संक्रमण हुन नदिन विभिन्न एन्टिबायोटिक औषधिको सेवन गर्नुपर्ने हुन्छ । (एजेन्सी)