१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रसूतिमा समस्या भएपछि नवजात शिशुको मृत्यु, सात महिनामा १५ गर्भ तुहियो


0
Shares

शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार (हिजो) राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा.नजिर खानले जानकारी दिए ।

उनका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर बस्नाका साथै शिशु धेरै ठूलो भएको हुँदा सहजै जन्मन सकेन । पाठेघरको मुख खुलिसकेका कारण शल्यक्रिया गर्न नमिल्ने र त्यस्तो अवस्थामा बाहिर सिफारिस गर्न नमिल्ने भएपछि थप समस्या निम्तिएको थियो ।

निकै जोखिम अवस्थामा सुत्केरी भएकी वलीको अधिक रक्तश्राव भएका कारण जिल्ला अस्पतालका ल्याब टेक्निसियन विजयकुमार शाहले एक पिन्ट रक्तदान गरेका थिए । रक्तदानपछि थप उपचारका लागि सुत्केरी वलीलाई शनिबार (आज) बिहान २ बजे भेरी अस्पताल नेपालगन्जमा लगिएको छ ।

अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । ‘निकै प्रयास गर्दापनि अभिभावकलाई जीवित बच्चा बुझाउन सकिएन तर अथक प्रयासबाट आमाको ज्यान बच्यो यो नै खुसीको कुरा हा’, डा.खानले भने ।

वलीका तीन सन्तान उल्टो नै जन्मिएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा पटक पटक स्वास्थ्यकर्मी तथा त्यहाँका कर्मचारीले नै रगत दिने गरेको अस्पतालले जनाएको छ । डा.खानका अनुसार चालु आवमा मात्र जिल्लामा दुई महिलाले ‘इक्ल्याम्सिया’का कारण ज्यान गुमाएको तथा करिब सात महिनामा १५ गर्भ तुहिएका छन् ।

करिब सात महिनाका अवधिमा ४० गर्भवतीको सफल शल्यक्रिया भएको छ । स्वास्थ्यकर्मीका अनुसार रोल्पामा अन्धविश्वासका कारण अझैपनि जोखिम निम्तिएपछिमात्र अस्पताल आउने गरेका छन् ।

सुरु सुरुमा धामीझाँक्रीकै भरपर्ने र अवस्था जोखिम भएपछि अस्पताल आउने बिरामीको सहज रुपमा उपचार हुन नसक्ने डा.खानले बताए । रासस