१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


मानिसको मृत्यु कहिले हुन्छ ? मस्तिष्कको अध्ययनबाट थाहा पाउन सकिने !


0
Shares

‘मेडलाइन प्लस’मा प्रकाशित समाचारअनुसार अनुसन्धानकर्ताहरुले मानिसको मस्तिष्कको अध्ययन ‘बायोमार्कर’अर्थात् जैविकीय अवस्था तथा प्रक्रियाको अध्ययन गरेर मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुरा पत्ता लाग्ने बताएका छन् ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज अफ लन्डनका जेम्स कोलले मस्तिष्कको ‘बायोमार्कर’ अध्ययनले मानिसको शरीरमा रहेको दीर्घस्वास्थ्य समस्याका लक्षणहरु थाहा पाउन सकिने बताए ।

उनले भने–‘सम्भावित स्वास्थ्य समस्या सँगसँगै उनीहरुको वास्तविक आयुसमेत पत्ता लगाउन सकिने छ ।’

अध्ययनकर्ताहरुले ‘बायोमार्कर’ विधिमार्फत् मस्तिष्कको अध्ययन गरी शरीरको मुख्य अंगहरुले कति समयसम्म काम गर्नसक्छ ? भन्ने कुरा पत्ता लगाउन सकिने उल्लेख गरेका छन् ।

उनीहरुले शरीरमा देखिने ती दीर्घस्वास्थ्य समस्याहरु देखिनुभन्दा पहिले नै ती रोगको लक्षणहरु पत्ता लगाउन सकिनेसमेत उल्लेख गरेका छन् ।

उनीहरुले रोग देखिनुपूर्व नै देखिने लक्षणहरुको अध्ययन गरी समयमै उपचार वा ती अंगहरुको आयु बढाउन सकिए मेडिकल विज्ञानमा ठूलो योगदान पुग्ने बताएका छन् ।

अध्ययनकर्ताहरुले ७०० जनाको मस्तिष्कको बायोमार्कर अध्ययन गरेका थिए ।

सन् १९३६ मा स्कटल्यान्डमा जन्मिएका ७०० जना वृद्धहरुको पुरानो मस्तिष्कको इमेजिंग स्क्यानिङ गरी अध्ययन गरिएको हो ।

मस्तिष्ककै अध्ययनबाट उनीहरुको फोक्सो, मिर्गौला, मुटुलगायत शरीरका अरु मुख्य अंगहरुको कार्यक्षमता पत्ता लगाइएको थियो । जसबाट उनीहरुको मुख्य अंगहरुले पहिलेको तुलनामा अब कति काम गर्नसक्छ ? भन्ने निष्कर्षसमेत निकालिएको थियो । यस अध्ययनबाट उनीहरु सबैको वास्तविक उमेर पत्ता लगाइएको थियो ।

अध्ययनका आधारमा अध्ययनकर्ताहरुले अध्ययनमा सहभागी एक वृद्धको मृत्यु ८० वर्षको उमेरमा शरीरको मुख्य अंगले काम नगरेपछि हुने भविष्यवाणी मिल्न गएकोसमेत उल्लेख गरिएको छ ।

अध्ययनकर्ताहरुले मस्तिष्कको अध्ययनसँगसँगै डीएनएको केहि कारकतत्वको अध्ययन गरिरहेका छन् । जसबाट मृत्युको सम्भावनालाई टार्न सकियोस् ।

अध्ययनको निष्कर्ष ‘मोलेकुलर साइकाइट्री’ जर्नलमा प्रकाशित गरिएको छ । (एजेन्सी)