
भारत, पन्जाबकी चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ । उनले १० वर्षको बच्चाले खानेसरह खान्छिन् ।
चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमासमेत उनीहरु चिन्तित छन् ।
चाहतको यस्तो अवस्थाबारे चिकित्सकसमेत छक्क परेका छन् । स्थानीय डा. वासुदेव शर्माले उनको शरीरको तौल त्यसरी दिन–प्रतिदिन के कारणले बढेको हो ? पत्ता लगाउन नसकेको बताए ।
डा.शर्माकाअनुसार चाहतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र श्वासप्रश्वास, अनिद्रालगायतको अरु समस्याहरु थपिँदै गएका छन् । उनलाई छालासम्बन्धी समस्या पनि देखिएको छ । रगत परीक्षण गरेर हेर्दा निकै जटिल अवस्था देखिएको छ ।
तर, उनको परिवारले आर्थिक अवस्था सामान्य भएकाले चाहतको उपचारका लागि राम्रो अस्पताल जान नसकेको बताए ।
चाहतका बाबु सुरज कुमार २३ वर्षका छन् । सुरजकाअनुसार चाहत जन्मिँदा कुनै समस्या थिएन । सबै ठिक थियो । तर, चार महिना पुगेपछि एक्कासि तौल बढ्यो ।
सुरजले भने–‘मेरो छोरीको तौल दिनदिनै बढिरहेको छ ।’
उनले यो सबै हुनुमा आफ्नो र परिवारको कुनै दोष नभइ भगवानको दोष भएको बताए । उनले आफ्नो छोरीलाई देखेर मानिसहरु हास्दा नराम्रो लागेकोसमेत बताए ।
चाहतकी आमा रिना पनि भर्खर २१ वर्षकी भइन् । रिनाले आफ्नो दोस्रो सन्तान छोरी पनि गुमाउनुपर्छ कि भन्ने चिन्ताले रातभरि निदाउन नसकेको बताइन् ।
रिनाले यसअघि छोरोलाई जन्म दिएकी थिइन् । तर, बचेन । उनले रुँदै भनिन्–‘फेरि अब छोरीको अवस्थाले चिन्ता लागेको छ ।’
उनको परिवारले सधैं देखाउँदै आएका डा. शर्माले रगतको परीक्षण गर्दा उपचार गर्न निकै समस्या रहेको बताए ।
उनले भने–‘मेलै अहिलेसम्म देखेको जटिल बिरामी जन्मेको चार÷पाँच महिनापछि एक्कासि तौल बढ्ने समस्यामध्ये चाहत पहिलो हो, आजसम्म मैले यस्तो जटिल ‘केस’ देखेको छैन ।’
डा.शर्माले उनको उपचारका लागि अमृतसरमा रहेको नागरिक अस्पतालमा लैजान सिफारिस गरेका छन् । तर, चाहतको बाबुले अमृसतसर टाढा र खर्चिलो भएकाले जान नसक्ने बताएका छन् ।
चाहतकी आमा रिनाले सधैं सपनामा छोरीको उज्जवल भविष्य देखेको बताउँदै उनको भविष्य राम्रो होस् भनेर भगवानसँग प्राथना गरेको बताइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्