११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


भरतपुर अस्पतालको सेवालाई जनमुखी बनाउन निर्देशन (भिडियोसहित)


0
Shares

गर्मीसँगै तराईका जिल्लामा स्वास्थ्य समस्यामा वृद्धि हुने भन्दै अस्पतालले पूर्वसावधानी अपनाउँदै स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन गृहकार्य गरेको हो ।

नेपालकै मध्यभागमा पर्ने भरतपुर अस्पताललाई जिल्ला अस्पतालकोरुपमा हेरिएपनि यसले केन्द्रीय अस्पतालकै भूमिका निर्वाह गरिरहेको छ ।

तराईका अधिकांश जिल्लाबाट आउने बिरामीको चाप यही अस्पतालले भोग्नुपरेको छ । बिरामीलाई उपचारका लागि राजधानीसम्म पुर्‍याउन नसक्नेहरु यही अस्पतालमा पुग्ने गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा सुधारसँगै ग्रामीण क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले अस्पतालको निरीक्षण गर्न पुगेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अस्पतालको सेवालाई जनमुखी बनाउन निर्देशन दिए ।

अस्पतालले दिने सेवालाई गुणस्तरीय बनाउन सुझाव दिँदै उनले सेवा सुदृढीकरणको लागि १७ करोड रुपैयाँ निकासा दिएको बताए ।

सरकारी अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उनले यस अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारी लक्ष्यअनुरुप काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

बिरामीको चाप बढ्दा ६०० शैय्याले पुगेको छैन भने अस्पतालको बहिरंग भवनको विकास र मर्मत गर्नुपर्ने अवस्था छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. रुद्रप्रसाद मरासिनीले केन्द्रीय अस्पतालको सुविधा र मान्यता नपाउँदा अस्पतालले दिने सेवा प्रभावित हुने गरेको भन्दै केन्द्रीय अस्पतालको मान्यता दिन आग्रह गरे ।

उनले अस्पतालमा एमआरआई, न्युरो, सर्जरी सेवाको सुरुआतसँगै ट्रमा सेन्टरलाई पूर्ण क्षमतामा सन्चालन गर्न माग गरे । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।