
फाइल फोटो
नेपालमा छाला विशेषज्ञको छाता संघठन नेपाल चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले विश्व छाला स्वास्थ्य दिवस र समाजको स्थापना दिवस पारेर पहिलोपटक नेपालमा विश्व छाला दिवस मनाउनेक्रममा छालामा साधारण समस्या आएपनि छाला विशेषज्ञलाई देखाउन आग्रह गरेका हुन् ।
छालारोगबारे सचेत गराउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय लिग अफ ड्रम्याटोलोजिकल’को आह्वानमा हरेक मार्च २९ तारिखलाई विश्व छाला स्वास्थ्य दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘छालालाई माया गरौं, स्वस्थ रहौं’ रहेको थियो ।
काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य वरिष्ठ छालारोग विशेषज्ञ डा.सविना भट्टराईले नेपालमा स्वास्थ्य संस्थामा बहिरंग सेवाअन्र्तगत उपचार गराउन आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका बिरामी हुने गरेको बताइन् ।
उनले भनिन्-‘धेरैले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा बुढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्दर्यपन हराएर जानेजस्ता समस्या देखिने गर्छ । समस्या बढ्दै गएमा छालाको क्यान्सर देखिन सक्छ ।’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका पूर्वचर्म तथा यौनरोग विभाग प्रमुख वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा.दिनेशविनोद पोखरेलले वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान, जथाभावी औषधिको प्रयोगलगायतका कारणले छालाका समस्या बढाएको बताए ।
‘दाद, संक्रमण, डन्डीफोर, चायाँपोतो, कत्लेरोग, दुवीलगायतका समस्या बढी देखिन्छन् । छालाको क्यान्सरका कारण कतिपयको मृत्यु भइरहेको छ । तर, यसबारे जानकारी हुनसकेको छैन’-उनले भने ।
आफ्नो छालालाई स्वस्थ राख्न र सुन्दरता बढाउन सामान्य ठानेर आफैँ औषधि सेवन नगर्न, बजारमा पाइने जुनसुकै क्रिम तथा लोसन प्रयोग नगर्न छालारोग विज्ञहरुले सल्लाह दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्