७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘ब्ल्याक होल’बारे नयाँ तथ्य बाहिरियो, सूर्यभन्दा तातो, चम्किलो ताराहरुको निर्माण ?


39
Shares

अनुसन्धानकर्ताहरुले भर्खरै ती विशाल कालो छिद्र (ब्ल्याक होल)कोभित्र कडा हावाबाट धेरै ताराहरुको निर्माण भइरहेको प्रमाणहरु भेटिएको बताएका हुन् ।

वैज्ञानिकहरुले भनेका छन्–‘अब ब्रम्हान्डमा रहेको आकाशगंगा (ग्यालेस्की)को निर्माण कसरी भएको छ भन्ने तथ्य पत्ता लाग्नेछ ।’

वैज्ञानिकहरुले ‘इएसओ’को ठूलो टेलिस्कोप प्रयोग गरेर आकाशगंगाको केन्द्रभागमा रहेको सबैभन्दा विशाल कालो छिद्रमा ताराहरुको बहावलाई अध्ययन गरिरहेका छन् ।

ब्ल्याक होलनजिक रहेका ताराहरु ब्ल्याक होलमा छिरेर ध्वस्त भइरहेका छन् । तर, यो अध्ययनले ताराहरु ब्ल्याक होलभित्र छिरेर ध्वस्तमात्र हुँदैनन्, त्यहाँबाट नयाँ ताराहरु पनि निर्माण भइरहेका छन् भन्ने नयाँ तथ्य पनि पत्ता लागेको छ ।

वैज्ञानिकहरुले ब्ल्याक होलभित्र चरम तातो वातावरणमा पनि कसरी ताराहरु निर्माण भइरहेका छन् भन्ने अवलोकन गरिरहेको बताएका छन् ।

युरोपिएन खगोलविद्हरुको समूहले दुईओटा आकाशगंगाबीच कस्तो टकराव भइरहेको छ भन्ने विषयमा ‘एमयुएसइ’ र ‘एक्स सुटर’ उपकरणसहित ठूलो टेलिस्कोपको सहायताले ‘इएसओ’को पारानल अवलोकन केन्द्रबाट अध्ययन गरिरहेका छन् । जसलाई ब्रम्हान्डमा रहेको दुईओटा आकाशगंगाबारे गरिएको संयुक्त खोज ‘आइआरएएसएफ २३१२८–५९१९’ को नामले चिनिन्छ ।

वैज्ञानिकहरुले गरिरहेको यस दुई आकाशगंगाको दुरी पृथ्वीबाट ६०० मिलियन प्रकाशवर्ष टाढा छ ।

वैज्ञानिकहरुले दक्षिणको आकाशगंगाको मुख्य केन्द्रमा ब्ल्याक होलबाट उच्चगतिमा हावाको चाप उत्पन्न भइरहेको र यहि चापको कारण नयाँ–नयाँ ताराहरुको जन्म भइरहेको प्रमाण भेटेका हुन् ।

ब्ल्याक होलले आफ्नो वरिपरिको सबै वस्तुहरुलाई आफूतिर आकर्षित गरेर निलिदिने र यसरी कैयौं ताराहरु त्यसको केन्द्र भागमा हराउने गर्दछ भन्ने मान्यता रहिआएको छ ।

तर, सत्य के हो भने त्यसरी ब्ल्याक होलभित्र हराएका ताराहरु ध्वस्त हुन्छन् र त्यहाँ ग्यास निर्माण हुन्छ । त्यसरी निर्माण भएको ग्यासले उच्च चापमा हावाको गति लिन्छ ।

खगोलविद्हरुले यहि हावाको भुमरीबाट नयाँ–नयाँ ताराहरुको जन्म पनि भइरहेको निष्कर्ष निकालेका छन् ।

क्याम्ब्रिज विश्वविद्यालयका खगोलविद् प्रा.रोर्बेटो माओलिनोले यसबारे अझै अध्ययन गर्न बाँकी रहेको बताउँदै भने–‘हामीले गरेको अध्ययन रोमान्चक छ, किनभने स्पस्टरुपमा देखिरहेका छौं कि ब्ल्याक होलभित्र ताराहरुको निर्माण भइरहेको छ ।’

एमयूएसइ र एक्स सुटर उपकरणसहित ठूलो टेलिस्कोपले नयाँ बनेका ती ताराहरुबाट परावर्तन भएको प्रकाशलाई अध्ययन गरिरहेको छ । त्यसरी नयाँ बनेका ताराहरुबाट आएको रेडियसन प्रकाश ग्यासबाट विस्फोट भएको पत्ता लागेको हो ।

ती ताराहरु लाखौं वर्षसम्म पनि चम्किरहने र अन्य ताराहरु (सूर्य लगायत)को तुलनामा तातो र चम्किलो हुने प्रारम्भिक विश्लेषण वैज्ञानिकहरुले गरेका छन् । ती नयाँ ताराहरुको गतिसमेत मापन गरिएको वैज्ञानिकहरुले बताएका छन् । जसको गति सूर्यकोभन्दा बढी छ र आकाशगंगाको केन्द्रभागमा उच्चगतिमा हिंडिरहेका छन् ।

क्याम्ब्रिज विश्वविद्यालयका खगोलविद् डा.हेलेन रुसेलकाअनुसार आकाशगंगाको केन्द्रभागमा रहेको ग्यासबाट बनेको हावाका कारण ती ताराहरुको गति भने कम हुनसक्छ ।

साथै, ती ताराहरुको बाटो पछाडितर्फ धकेलिनसमेत सक्छ । ताराको उच्चवेगका कारण आकाशगंगाबाट उछिट्टिन पनि सक्छ ।

वैज्ञानिकहरुले भनेका छन्–‘नयाँ खोजले एउटा अनौठो तथ्य बाहिर आएको छ । जुन तथ्यलाई खगोल भौतिक वैज्ञानिकहरुले अझै माथि पुगेर अध्ययन गर्न सक्छन् ।’

यस तथ्यले आकाशगंगा (ग्यालेक्सी)ले आफ्नो आकृति कसरी निर्माण गरिरहेको छ र पृथ्वीका अन्तरिक्षयात्रीहरु त्यहाँसम्म पुग्न सक्छन कि सक्दैनन् भन्ने कुरा थाहा पाउन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।

साथै, आकाशगंगाको रहस्यमय प्रकाशका किरणहरु कसरी निर्माण भइरहेको छन् भन्नेबारे धेरै जानकारीसमेत पाउने खगोलविद्हरुले विश्वास गरेका छन् ।

प्रा.माओलिनोले अनौठो भविष्यको सुरुआत भएको बताउँदै यहि तथ्यबाट नयाँ सैद्धान्तिक मान्यताहरु आए आकाशगंगाको रहस्यमय शक्तिबारे नयाँ अध्यायको सुरुआत हुने बताएका छन् ।

यो समाचार जर्नल नेचरमा प्रकाशित गरिएको छ ।