११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


विगत १३ वर्षदेखि घाँटीमा ठूलो ट्युमर, सडकमा मागेर गुजारा चलाउँदै चिनियाँ वृद्ध


0
Shares

चीनको जिलिन सहरमा बसोबास गर्ने लिउ झिहि नाम गरेका ती वृद्धको घाँटीमा ठूलो ट्युमर आएपछि बाटोमा माग्दै हिँडेका हुन् ।

सन् २००४ मा पहिलोपटक ट्युमर देखिएपछि काम गर्न अप्ठ्यारो र दुखाइ बढेको उनले बताएका छन् ।

डेलीमेल अनलाइनकाअनुसार उनले वांग झिसियांग रिसोर्टमा दुखाइ कम गर्ने प्राकृतिक उपचार गराए । तर, उपचारकोक्रममा असामान्य खालका प्रतिकृयाहरु देखापरेपछि उनी चिन्तित बनेका छन् ।

उनको घाँटी सामान्य मानिसको घाँटीभन्दा दुई गुणा ठूलो छ । उनी सामान्य जीवनमा फर्कन सकेका छैनन् ।

ती वृद्धको दुःख देखेर घुम्दै आएका एक बटुवाले उनको उपचार गरिदिन सहयोग गरेका थिए । तर, उनको घाँटीमा बढ्दै गरेको मोटो ट्युमरको उपचार गर्न धेरै महँगो लाग्ने भएकोले ती बटुवाले उनको उपचार गर्न सकेनन् ।

चिकित्सककाअनुसार ट्युमरको शल्यक्रिया गर्न करिब एक लाख युआन अर्थात् १२ लाख बराबर नेपाली रुपैयाँ लाग्छ ।

उनले सन् २००४ मै जिलिन सहरको स्थानीय चिकित्सकलाई भेटेको बताए । त्यतिबेला उनी मजदुरी काम गर्थे ।

ती स्थानीय चिकित्सकले क्यान्सर रोगीलाई गरिने उपचार पद्दति शरीरबाट पम्प गरी हर्मोन निकाल्ने हर्मोनथेरापी गरेका थिए । तर, थेरापीबाट उनको शरीरबाट छाला लोत्रिने र झन् ट्युमरको आकार बढ्ने समस्या देखियो ।

सुरुमा उनले आफूलाई गलगाँड आएको ठानेका थिए । जब उनी चेगंचुन जिल्ला अस्पताल पुगेर परीक्षण गरे, त्यसपछिमात्रै थाहा पाए, उनलाई ‘लिपोमा’ भन्ने रोग लागेको रहेछ ।

डा. सान्द्रा लिकाअनुसार लिपोमा रोग भनेको छालामा नरम, बोसोयुक्त पदार्थ जमेर गाँठोजस्तो भएर बस्ने ट्युमर हो, जुन छाती, घाँटी, ढाँड र पाखुरामा देखापर्दछ । यस्तो प्रकारको ट्युमरबाट क्यान्सर नहुने र विस्तारै बढ्दै जान्छ ।

यो रोग सयमा एकजनालाई हुनसक्ने र बेलैमा उपचार गरे ठिक हुने अन्यथा ट्युमर बढ्दै गएपछि शरीरका अन्य अंगलाई पनि असर गर्दछ र उपचारमा जटिलता आउन सक्छ ।

उपचारमा धेरै रकम लाग्ने भएपछि उनले उपचार हुने आश मारेका थिए । तर, उनको नजिकैको स्यांगदोंग जिल्लाको रिझाओ सहरका वासिन्दाले सार्वजनिकरुपमा उनको उपचारको लागि रकम संकलन थालेका छन् । (एजेन्सी)