
जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा घर पठाइएको थियो ।
खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर फर्किएका कुमाललाई आर्थिक अभावका कारण उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन् ।
उनको पूरै घरबास बेचे पनि उपचार सम्भव नभएपछि दिन प्रतिदिन गल्दै गएका उनका श्रीमान्को शरीर अहिले कुहिँदै जान थालेको छ ।
ओछ्यानमै दिसा–पिसाब गरेर लडिरहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ बलिथुमका समाजसेवी लब्सन महतले सन्चारमाध्यमसँग आग्रह गरेका छन् ।
तीन महिना पनि खान पुग्ने जमिन नभएका कुमाल परिवारमा बिहान–बेलुकाको चुलो जलाउन पनि मुस्किल छ ।
श्रीमान्लाई दिसा–पिसाब गराउनेदेखि अर्काको मेलापात गरेर मायाले श्रीमान्को रेखदेख गरिरहेकी छन् ।
श्रीमान् विस्तारामा सुतेरै माछा मार्ने जाल बुन्छन् । उनको ढाँडको घाउ पाकेर घरै दुर्गन्धित हुने गरेको छ ।
गहभरि आँसु पार्दै मेघलाल भन्छन्–‘म मरे पनि मेरो छोरा पढाइदिने मान्छे कोही भइदिए धन्य हुने थिएँ ।’
श्रीमती माया भने कुहेको शरीर भएपनि श्रीमान्लाई सधैं बाँचेको देख्न चाहन्छिन् । रासस
प्रतिक्रिया दिनुहोस्