११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सोमबार मुख स्वास्थ्य दिवस मनाइँदै


0
Shares

विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको हो । मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको आयोजक नेपाल डेन्टल एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष सन्तोषमान राजभण्डारीले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताए । वीर अस्पतालका दन्त विशेषज्ञ डा प्रकाश बुढाथोकीले रोगको प्रवेशद्वार नै मुख भएकाले रोगको प्रवेश शरीरभित्र हुन नदिन समयसमयमा मुखको परीक्षण गर्नु आवश्यक भएको बताए ।

दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेले मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायतका रोग छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने बताउँंछन् ।

वल्र्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माझ्नाले गिजा र दाँतलाई बचाउन सकिन्छ । फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको ब्याक्टेरिया हटेर जाने दन्त चिकित्सकहरु बताउँछन् ।

उनले भने, “हरेक नेपालीलाई कुनै न कुनै प्रकारको मुखसम्बन्धी समस्या छ । सहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने कारणले दाँत सड्ने समस्या बढी देखिएको छ । त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्छ ।” नेपाल मेडिकल परिषद्मा हालसम्म एक हजार ९ सय ६० दन्त चिकित्सक छन् भने ५ सय ४६ दन्त विशेषज्ञ दर्ता छन् ।

दन्त चिकित्सक कालुसिंह खत्री सबै विशेषज्ञ सहर केन्द्रित भएकाले उनीहरुलाई विकेन्द्रीकरण गरी सबै विकट क्षेत्रमा पु¥याउन सरकारले लोकसेवामार्फत दन्त चिकित्सक खटाउनुपर्ने बताउनुहुन्छ ।

हाल १२ दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३०० चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१७ देखि यो सङ्ख्या दोब्बर हुने एसोसिएसनको भनाइ छ । सरकारले नीति बनाएरै देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकको भनाइ रहेको छ । रासस