
शनिबार राती न्यूयोर्कमा सम्पन्न ‘वल्र्ड फेसन परेड’द्वारा आयोजित ‘न्यूयोर्क फेसन विक-३’ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् ।
नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो ।
वल्र्ड फेसन शोले आयोजना गरेको उक्त फेसन शोमा प्रदर्शन गरिएका नेपाली पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले नै प्रस्तुत गरेका हुन् ।
फेसन शो सम्पन्न भए लगत्तै आफूलाई विश्वका स्थापित फेसन डिजाइनरहरुले बधाइ दिएको बताउँदै डिजाइनर गौतमले भनिन-‘अन्य डिजाइनरका कमर्सियल पहिरन प्रदर्शन गरिदा मैले नेपाली मौलिक कला तथा संस्कृती झल्कने पहिरन तयार पारेकोमा अधिकांशले नेपाली पहिरनको प्रसंसा गरेकोमा म असाध्यै हर्षित भएकी छु ।
फेसन शोमा डिजाइनर गौतमले तयार पारेका ब्राम्हण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका मासिनहरुले लगाउने परम्परागत पहिरनहरु प्रदर्शन गरिएको थियो ।
‘नेपालमा झन्डै तीन महिना लगाएर तयार पारेका पहिरनले अमेरिकी दर्शकको समेत मन जित्न सकेकोमा म हर्षित छु, डिजाइनर गौतम भन्छिन-‘पहिरनमार्फत मैले हामी नेपाली एक हौं भन्ने सन्देश दिन खोजेकी थिएँ ।
फेसन शोमा डिजाइनर गौतमले तयार पारेका पहिरनहरु विदेशी मोडलहरुले प्रदर्शन गरिरहँदा एक जना नेपाली मोडल जाङ्बु शेर्पाले पनि ती पहिरन प्रस्तुत गरे ।
उक्त फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका थिए ।
हरेक डिजाइनरलाई आफ्ना पहिरन प्रदर्शनका लागि एक–एक वटा सिक्वेन्स तयार पारिएको थियो ।
डिजाइनर गौतमको पहिरनले चौतर्फी प्रसंसा पाए लगत्तै न्यूयोर्कस्थित नेपाली राजदूतावासले उनलाई समारोहस्थलमै प्रसंसा पत्रले सम्मान गरेको छ ।
फेसन शो लगत्तै आफ्ना दुई पहिरन बिक्रि भएको समेत डिजाइनर गौतमले बताएकी छिन् ।
राउटे तथा शेर्पा जातिको संस्कृति झल्कने पहिरन विक्री भएको गौतम बताउँछिन् । न्यूयोर्कको होली डे इनमा सम्पन्न फेसन शोमा करिव ६ सय दर्शक सहभागि थिए ।
नेपाली दर्शकको न्यून उपस्थिती रहेको फेसन शोमा नेपाली पहिरनले दर्शकको मन जितिरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत डिजाइनर गौतमसंग नेपाली परम्परागत पहिरनका बारेमा जिज्ञासा राखेका थिए ।
नेपालमा ती पहिरन तयार पार्न डिजाइनर गौतमलाई डिना गुरुङ तथा रनितले पनि सहयोग गरेका थिए ।
नेपाली पहिरनले दर्शकको मन जिते लगत्तै निकट भविष्यमा लन्डन तथा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय फेसन शोमा आफूले निमन्त्रणा पाएको डिजाइनर गौतम बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्