८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !


0
Shares

-संजिव कार्की

दाजु गंगालाललाई अन्तिम श्रद्धाञ्जली दिदैं पुष्पलालले भन्नु भएको कुरा यस्तो थियो-“जबसम्म जनतालाई अधिकार प्राप्त हुनेछैन तबसम्म देशमा राणाशाही, हुकुमी शासन साथै सामन्ती शोषणको अन्त्य हुने छैन र जबसम्म दलित, शोषित , पिडित ,मजदुर किसान जनताले आफ्नो अधिकार प्राप्त गर्ने छैनन् तबसम्म हमेशा क्रान्तिको अग्रपंतिमा रहनेछु र आफ्नो जीवन, देश र जनताको लागि समर्पित गर्ने छु ।’

२००५ चैत्र २३ मा कम्युनिस्ट घोषणा पत्रको नेपाली भाषामा अनुबाद प्रकाशन पुष्पलालबाट भयो । जसबाट कम्युनिस्ट बारेमा जान्ने बुझ्ने केहि सिमित पढेलेखेका मान्छेलाई अवसर प्राप्त भयो । बाम विचारको प्रचार प्रसारमा यसले ठूलो भूमिका खेल्यो । कम्युनिस्ट घोषणा(पत्र नेपाली भाषामा अनुबाद प्रकाशन गरेको एक वर्ष पछि २००६ साल बैशाख १० मा कलकत्ताको श्याम बजारमा कमरेड पुष्पलालको सक्रियता र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको संस्थापकहरुमा पुष्पलालको अलवा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलाश जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो, जसको नेतृत्व पुष्पलालले गर्नु भयो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास र भारतको तेलंगनाबिद्रोह र राणाशाही बिरुद्दको जनसंघर्ष आदि थिए । जतिबेला नेपालमा पनि साम्यवादी व्यवस्था ल्याउन सकिन्छ, साम्यबाद नै कम्युनिस्ट पार्टीको अन्तिम लक्ष्य हो भनि मानिएको थियो । हुन् त अहिले पनि केहि कम्युनिस्ट पार्टीहरु आफ्नो अन्तिम बिन्दु साम्यवादी व्यवस्था नै हो भन्छन ।

२००६ सालमा सानो ४ ,५ जनाले स्थापना गरेको पार्टी अहिले नेपालको झन्डै ६५ प्रतिशत भन्दा बढि जनमत आफ्नो पोल्टामा हुँदा पनि शासन सत्ताको दर्बिलो हकदार बन्न सकेको छैन । ‘भाइ फुटे गँवार लुटे’ भन्ने उखान नेपालका कम्युनिस्टहरुको सन्दर्भमा हु–बहु मेल खान्छ । बेमेल, अनेकता, बिखन्डन ,बिभाजन, टुटफुट र सामान्य टालटुलले, दिग्भ्रमित र ग्रसित अनि बिलखबंधनको माखेसांगलोमा छ नेपालको कम्युनिस्ट आन्दोलन ,अनि नेपालीको सपना र रहर । २००९ मा अनयास पुष्पलाललाई पदबाट बिस्थापित गरे पछि शुरु भएको बिबादको विजारोपण आज पर्यन्त झांगीदो , फैलदो र बढ्दोक्रममा छ जुन देश कै लागि दुर्भाग्यपूर्ण अवस्था हो, भने कम्युनिस्टका नेता कार्यकर्ताको लागि आत्मघाती र अवसरको निर्मम खेलवाड ।

अध्यक्ष माओ कि कान्छी श्रीमतीलाई हेर्ने, बुझ्ने दृष्टिकोण नमिल्दा समेत फुट्ने कम्युनिस्टहरु टुट, फुट आपसी अविश्वास र संसयको घेरामा संधै हुन्छन । टुट फुट कम्युनिस्टहरुको विरासत नै हो । व्यक्तित्व टकराव र तनाव हुने, देखिने बित्तिकै सिद्दान्तको झिल्के जामा पहिरेर कम्युनिस्टहरू फुट्न ढिला गर्दैनन् । एक अर्कालाई गद्दार र प्रतिगामीको बिल्ला भिराउन कुनै बिलम्ब गर्दैनन् । संस्थापक कमरेड पुष्पलाल स्वयम गद्दार घोषित नेता हुन् । देशप्रेम र जनप्रेमले राष्ट्रबादी हुनुपर्ने, राष्ट्रको माया र विकास गरेर राष्ट्रप्रेमी हुनुपर्ने । कम्युनिस्टहरु अरु कुनै अमुक शक्ति र छिमेकीलाई गालीगलौज गर्न अनि अर्को कुनै छिमेकीको चाकरी गरेर आफूलाई राष्ट्रवादी ठान्छन । यो नितान्त ठूलो भुल र भ्रम हो । भ्रमको खेति गर्न र भ्रम छर्न, उमार्न अनि भ्रमको बाली लगाउदै भ्रमको फसल बेच्न हाटबजारमा कम्युनिस्टहरू छिटोभन्दा छिटो पुगेको देखिन्छ ।

सपनाको व्यापार, रहरको सजावट र आफ्नो सानो भन्दा सानो कामको पनि आकर्षक बिज्ञापन गर्न र बजार बनाउन कुनै पार्टीले पनि कम्युनिस्टलाई जित्न र उछिन्न सक्दैनन् । जसको कारण पनि कम्युनिस्ट नामको दोकान नेपालमा नचलेको छैन । कम्युनिस्ट पार्टीको आकर्षक नारा र चिप्लो बोलीमा नेपाली जनमत खुब प्रभावित र मोहित छ । मतभेद, बिभाजन , बिभिन्न धार र उपधारमा विभक्त हुँदै कम्युनिस्ट पार्टीको यात्रा चलिरहेको छ । प्रारम्भिक दिनहरुमा रायमाझी, तुलशिलाल, मनमोहन र मोहन बिक्रम धारहरुमा विभाजित कम्युनिस्ट पार्टी समयको पर्वाहसंगै जुट्दै फुट्दै आज झन्डै एक दर्जन पार्टीमा खण्डित र सक्रिय छन तर पनि नेपाली जनताको अधिकतम प्रतिनिधित्व संसदमा यिनीहरु कै छ ।

शक्तिशाली छन तर खण्डित, मण्डित र क्षयीकरणले आक्रान्त छन् । केहि छिन, घण्टा र दिन अघि आँखामा राखेपनि न बिझाउने कामरेडी सम्बन्ध केहि छिन, घण्टा र दिन जस्तो छोटो समयको अन्तरालमा नै आपशी कटुता, संशय अविश्वास र बेमेलले आँखा अघि देख्दा पनि बिझाउने र एक अर्काका कट्टर आलोचक र दुश्मन बन्न हिच्किचाउदैनन् । काटमार र हिंस्रक आक्रमणमा ओर्लन पुग्छन जुन कुरा कम्युनिस्ट आन्दोलनको रोग हैन महारोगको नामले परिचित छ । आफ्नो स्वार्थ पुरा गर्नु पर्दा , बोल्दा , लेख्दा निहित उदेश्यको लागि महिला, दलित, जाति, जनजाति, मुश्लिम, थारु, मधेसी सीमान्तकृत बर्ग क्षेत्र समुदाय र भूगोल भनि चर्को नारा लगाउने कम्युनिस्टहरु आफ्नो पार्टीगत संरचना र सरकारको सहभागितामा उचित प्रतिनिधित्व गराउन र सबैलाई समेट्न सक्दैनन् जसले नारा र ब्यबहारिक पाटोमा फरक देखिन्छ । जुन सामान्य त्रुटी मात्र हैन असमान्य हेलचेक्र्याइँ र विरोधाभाष हो ।

एक जवाना थियो कम्युनिस्ट पार्टी तिनका नेता र कार्यकर्ता जसको अनुशासन फलामे अनुशासन भनेर चिनिन्थ्यो ,सुनिन्थ्यो , देखिन्थ्यो सर्वत्र कम्युनिस्ट पार्टीको अनुशासन र जीवनशैलीको जो सुकै जति सुकै दुश्मनी भए पनि प्रसंसा र चर्चा गर्दथे । अनुकरणीय मानिन्थ्यो । ब्यबस्थित र कार्यकुशलताको बखान गरिन्थ्यो । पढेका बुझेका भद्र ब्यबहारिक र नम्र अनुशासित भनेर कम्युनिस्टको तारिफ गरिन्थ्यो । केहि कम्युनिस्टहरूको जीवन शैली सोच जागरुकता ब्यबहरिकता साच्चै उदाहरण योग्य थियो पनि, जसको परिणाम २०१६ सालको चुनाव भन्दा पछि कम्युनिस्ट जनमत बढ्दो क्रममा आज पर्यन्त उस्तै छ तर आपसी बेमेल र फुटले एकीकृत वर्चस्व र शक्ति आर्जन गरि देशको नेतृत्वमा आउन सकेका छैनन् । यदि कम्युनिस्ट पार्टी मात्र एक हुने हो भने यो देशको अस्थिरता धेरै हद सम्म घटेर जानेछ । एकीकृत कम्युनिस्ट शक्ति हुने हो भने देश संचालनको अभिभारा प्राय कम्युनिस्टको हातमा हुनेछ । जसले गर्दा कम्युनिस्ट इतर शक्ति र पार्टीहरु पनि एक जुट हुन् बाध्य हुनेछन कि एक जुट भएर कम्युनिस्टको वर्चस्व तोड्न मेहनत गर्ने छन कि समाप्त भएर जाने छन ।

अहिले जस्तो एक सिट प्राप्त गरेर संधै सत्ताको हालीमुहालीमा हुने छैनन् । पार्टीहरु कम हुनेछन , जति जति पार्टी कम हुनेछन, त्यति त्यति अस्थिरता कम हुनेछ भएका पार्टीहरु पनि बलिया र आन्तरिकरुपमा पनि सबल र थिर हुनेछन तसर्थ नेपालमा कम्युनिस्ट पार्टीको एकता जरुरि छ, जुन एकताले देशको अस्थिरता भाग्ने छ, भने पार्टीहरु पनि सक्षम र बलशाली हुनेछन । तत्काल कम्युनिस्ट पार्टी मात्र एक हुने हो भने देश नै अरु सवल, सक्षम र गतिशील हुनेछ िआजको कम्युनिस्ट पार्टीको एकता र शक्ति अनि सामर्थ्य वृद्धि र बढोत्तरी भनेको कालान्तरमा अरु पार्टी र शक्ति पनि बलियो संगठित र मजबुत हुनु हो । प्रतिस्पर्धी पार्टी बलियो संस्थागत र सशक्त भयो भने अरु पनि कमजोर र कामचोर भएर बस्न सक्दैनन् अरुलाई पनि कसरि आफु बलियो हुने भन्ने प्रतिस्पर्धी भावनाले छोप्छ जसले गर्दा देश नै गतिशील र एउटा छुटै लयमा हिड्न सक्छ । धारिलो हतियार स्वयम आफैले केहि काट्दैन, जसलाई परिचालित गर्ने हात पनि चाहिन्छ । हतियारले जे पनि काट्न र बिगार्न सक्छ भत्काउन सक्छ तर त्यसलाई ठिक ढंगले परिचालित गरियो भने जो असाध्यै उपयोगी र काम लाग्दो हुनसक्छ ।

तसर्थ देश रुपी हतियारलाई पनि पार्टी रुपी बलियो सुसंगठित र कला पूर्ण र गतिशील हातको आवश्यकता छ जुन हात पार्टीहरु आफैले बनाउने हो । धेरै तर लुला लंगडा अशक्त हातहरु मात्र भएर देश बन्दैन । जनताको रहर र सपना पुरा हुँदैन, त्यसैले शसक्त , थोरै तर बलिया र शिपयुक्त हातहरु हनुपर्छ , शिपयुक्त हातमा हसिया,खुर्पा,कोदाली, हलो र हथौडा पर्नु पर्छ । पैसा,पद ,पावरको त्रिवेणीमा मा मरीहत्ते गर्ने कम्युनिस्ट नेतृत्व रहे र भए सम्म कम्युनिस्ट पार्टीको एकता र मेल सम्भव छैन मदन भण्डारीको जस्तो उदार र फराकिलो छाती सोच र शैली भएको नेता भए भने कम्युनिस्ट एकता ठूलो कुरा हैन । अहिलेका कम्युनिस्ट कोहि पनि सिद्दान्तले कम्युनिस्ट छैनन् र हैनन् तर नाम र कम्युनिस्ट ब्रान्ड भने छोड्न नसकेको मात्र हो ।

केहि अपवादलाई छोड्ने हो भने नेपालमा क्रियाशील ठूला पार्टी तिनका नेता र तिनको सिद्दान्तमा ठूलो अन्तर र गहिरो खाडल छैन केवल शैली सोच र तरिका अनि पार्टी संचालनको परम्परामा मात्र लघुअन्तर र लघुआशंका मात्र हो । कम्युनिस्ट पार्टीमा सिद्दान्तको त्यति अन्तर झन् होस् कसरी ? एउटा गोत्र बंश र थरका बिचमा फरक भनेकै व्यक्ति र व्यक्तिगत मन मुटाव मात्र हुन् । फुट्न ठूलो निहु र सिद्दान्त नचाहिने कम्युनिस्टहरु यदाकदा जुटेको पनि भेटिन्छ तर जुटलाइ भन्दा फुटलाई बढि प्राथमिकता दिने कम्युनिस्टहरु अब जुट्ने महाअभियानमा लाग्नु जरुरि छ ।

आज देशको आवश्यकता पनि यहि हो । देशको अस्थिरता, असुरक्षा, अब्यबस्था र अन्योलको कारक बनेर नेपालका कम्युनिस्टहरु बस्न मिल्दैन । जुट्ने महायज्ञ जुन यजमानले आयोजना गरे पनि चरु हाल्न र सवै कम्युनिस्ट आयोजक बन्न ढिला गर्नु हुन्न यो महायज्ञ जति ढिला भयो त्यति नेपाली जनताको दुर्भाग्य हुनेछ । २०१६ को निर्वाचनमा ४ सिट मात्र जितेको कम्युनिस्ट पार्टी २०६४ को संबिधान सभा चुनावमा झन्डै दुई तिहाई र दोश्रो संबिधान सभामा बहुमत सिट जितेका छन तर आपसी फुट सत्ताको छिनाझपटीको कारण राजनीतिको केन्द्र भागमा रहेर पनि नेतृत्वदायी भूमिकामा खरो उत्रन सकेका छैनन् । नेपाली जनता जगाउने र क्रान्तिको माहौल बनाउन देखि २०४६ को आन्दोलन होस् या २०६२/६३को जसमा योगदानका हिसाबले कम्युनिस्ट पार्टीको भूमिका उलेख्य भए पनि नेतृत्वदायी भूमिकामा भने कांग्रेस कै हालीमुहाली देखिन्छ ।

२००७ को जनक्रान्ति देखि बिबिध समयक्रमम भएको आन्दोलन अनि राजतन्त्रलाई फाल्न समेत सक्रिय र क्रियाशील कम्युनिस्ट पार्टीहरु सत्ता ब्यबस्थापनमा कांग्रेस झैँ कमजोर नै देखिए । आफ्नो शक्ति , सामर्थ्य र औकात देशभर असिम भए पनि आपसी बेमेल, अनेकता, फुट र बिभाजनले कम्युनिस्टहरू निर्वल र गतिहीन बन्न र देशलाई नै नेतृत्व दिन सकिरहेका छैनन् जुन देश र जनताको लागि अभिशाप नै भयो । बिगतका भुल र त्रुटीहरुलाई सच्याएर कम्युनिस्ट पार्टीहरु एकीकृत बनि जानु नै आजको अपरिहार्यता हो यदि पार्टी एकता हुन् सक्दैन भने मोर्चा बनाएर कम्युनिस्ट पार्टी चुनावमा जाने हो भने देशको अस्थिरता घटेर जानेछ । देशमा कम्युनिस्ट पार्टी बलियो हुनु भनेको नेपाली कांग्रेस पार्टी र अरु प्रजातान्त्रिक शक्ति पनि आन्तरिक रुपमा बलिया र समदूरीमा रहेका अरु पार्टी बीच पनि कार्यगत एकता बन्ने र चुनाव फेस गर्ने वातावरण बन्ने छ जसले हाम्रो प्रजातान्त्रिक पद्दति मजबुत र अद्यावधिक हुन् मद्दत पुग्नेछ ।