९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


महाभारतकी कुन्ती —८


0
Shares

एक योजनसम्म गनाउने भएकोले योजना गन्धा भनिएको होला । मत्स्यगन्धा अर्थात् माछाको गन्ध आउने महिला । योजना गन्धा अर्थात् एक योजनसम्म गन्ध आउने । राजमाताको कुरै बेग्लै । किन माछाको पेटमा हुर्किनु भयो होला भन्ने कुरा स्वयं उहाँलाई पनि त थाहा थिएन रे । जब उहाँकै छोरा कृष्ण भनौँ व्यासले पत्ता लगाउनु भयो, अनिमात्र उहाँलाई पनि थाहा भएको रे, उहाँ त कुनै यक्षकी छोरी हुनुहुन्थ्यो । माछाकै बच्चा या त माछा नै हुनुप¥यो, होइन भने कुनै न कुनै मान्छे वा यक्ष वा राक्षस वा देवता त हुनै पर्थ्यो । माछासँग त मात्र फुल हुन्छ, त्यसलाई सेचन गर्ने कोही पात्र त हुनै पर्छ । त्यसैले व्यासले धेरै अनुसन्धान गरेर पत्ता लगाउनु भएको हुनुपर्छ ।

पूर्व जन्ममा राजमाता पितृलोककी कन्या हुनुहुन्थ्यो रे । कुनै श्रापका कारणले उहाँले माछाको पेटमा बास बस्नु परेको थियो रे । हाम्रो परिवारको मात्रै कथा, व्यथा र इतिहासका बारेमा जानकारी लिन थाल्यो भने लाग्छ, हुने हुनामी टर्दैन र टार्न खोजे पनि टर्दैन । जो नहुनु छ, त्यो चाहेर पनि हुँदैन र हुँदैन भनेपछि हुँदैन । पितृलोककी अच्छोदा नाम गरेकी ती कन्याको मर्त्यलोकमा आउनु पनि एउटा संयोग थियो र मर्त्यलोकमा आउनका लागि जुन माध्यम तयारी भयो, त्यो पनि भवितव्य तर नियोजित नै मान्नुप¥यो ।

साँच्चै नियति त गणितको सूत्र पो हुँदोरहेछ जस्तो लाग्न थाल्यो अहिले आएर मलाई । एउटा देखिन भवितव्य जस्तो अनि त्यसको परिणामचाहिँ पहिलेदेखि नै तयारी जस्तो । जसरी पनि परिणाममुखी हुने । न परिणाममा कसैको नियन्त्रण सम्भव हुँदोरहेछ, न त नियतिमा कसैको प्रभाव नै पर्दोरहेछ । जे हुने हो भएरै छोड्छ, न कसैलाई थाहा हुन्छ, न कसैले टारेर टर्ने नै हो रहेछ । अच्छोदाको जन्म त माछाको पेटमा बसरे जन्मने त तय भएको रहेछ तर माछा नै हुने त त्यस्तो कुनै श्राप पनि परेको होइन रहेछ ।

हाम्रो कुरुवंशी राज परिवारको जीवनलीलामा प्रभाव पर्नेगरी उहाँको जन्म भएको रहेछ । वास्तवमा कुरुवंशीको अन्तिम राजकुमार नै उहाँको गर्भबाट जन्मिए र प्रत्यक्षतः निरन्तर सन्तानका आधारमा हस्तिनापुरका कुरुवंशको अन्त्य भए पनि उहाँको आदेशले कुरुवंशलाई उकेरा लगाउने काम उहाँबाटै भयो भन्ने यसकारणले पनि मैलेचाहिँ मान्नै पर्ने हुन्छ किनभने म पनि कुरुवंशकै महारानी र राजमाता हुने सौभाग्य पाएँ । त्यसैले मलाई त लाग्छ हामी सबै निमित्त नायकमात्र रहेछौँ, गर्ने कोही अरु नै रहेछ । कहाँ म ब्रजमा जन्मेकी ग्वाला अधिराज्यकी राजकुमारी, कहाँ हस्तिनापुरकी चक्रवर्ती महाराजकी बडामहारानी हुने मौका । कसरी जुरायो होला दैवले ? यत्ति धेरै राजाहरुमध्ये मलाई लिन स्वयंवरमा आफैँ पाण्डु आउनु भएको थियो । एउटा कुरा अझै मेरो मनमा खट्किन्छ—यदि मैले महाराज पाण्डुलाई स्वयंवरमा न छानेको भए के उहाँ चुपचाप फर्किनु हुन्थ्यो कि हाम्रा सासुहरुको जस्तो मलाई लछारेर भए पनि हस्तिनापुर ल्याइन्थ्यो होला ? पाण्डुको स्वभावअनुसार त उहाँ चुपचाप खुसीराजीसँग फर्किनु हुन्थ्यो होला तर हस्तिनापुरको सान र मान राख्न उहाँका सेनाले सायद त्यसै फर्किनु अपमान सम्झन सक्थे होलान् । तर महाराजमा त्यस्तो कामना मैले कहिल्यै देखिन र काम वासनामा अधीनमा रहेर कुनै अन्याय गरेको मैले थाहा पाइन । तर …..कस्तो लीला । कामको लीला कि ? कामनाको लीला ? पराशर ऋषि हाम्रो बेलाका चर्चित ऋषि । आफ्नो सिद्धान्त तयार गरेर नाम कमाएका ऋषि । महाऋषि वशिष्ठका नाति, पौत्र । पुत्रको पुत्र पौत्र । वशिष्ठका छोरालाई राक्षसले मारेका थिए, त्यसैले आफ्ना पितालाई मार्नेसँग बदला लिनका लागि पनि पराशरले साह्रै ठूलो तपस्या गरेर क्षमता विकास गरे अनि राक्षसहरुको समूल निर्मूल गर्ने प्रतिज्ञा गरे र राक्षस सत्र यज्ञ नै घोषणा गरे ।

त्यसो गर्नु भनेको क्षत्रीय, राक्षस र राज्य प्राप्त गर्ने वा हार्नेले गर्ने कामको रुपमा लिइन्थ्यो हिँसाको काम । मारकाटको काम । प्रतिशोधको काम । त्यो पनि खुल्लम्खुल्ला घोषणा गरेर । म अब यसो गर्दैछु होसियार हुनु भनेर । पराशर ऋषिले पनि त्यसै गर्ने भनी राक्षस यज्ञ गर्ने निधो गरेका थिए तर त्यसलाई कसैले पनि मन पराएनन्, स्वयम् वशिष्ठलाई समेत मन परेको थिएन रे । अनि पराशर ऋषि त्यस्तो पात्रको खोजीमा हुनुहुन्थ्यो जसले उहाँको सिद्धान्त, ज्ञान र अनुसन्धानलाई फेरि संसारमा जीवित राखोस् । वास्तवमा कामहीन व्यक्तिको रुपमा उहाँको गणना हुन्थ्यो जस्तो कि दुर्वासा आदि साठी हजार ऋषिलाई घुम्ती विश्वविद्यालयको रुपमा लिइन्थ्यो । उनीहरु संसारको जुनसुकै भागमा गएर शिक्षा प्रदान गर्न सक्थे र त्यहाँको राजाले उनीहरुलाई सहयोग नगर्ने कारण नै हुँदैनथ्यो । साठी हजार भनेको सानो संख्या त होइन नि ? म नै त्यसको उदाहरणमा परेकी हुँ । मैले जुन दीक्षा वा मन्त्र पाएँ, तिनै घुम्ती विश्वविद्यालयका नायक वा कुलपति दुर्वासाबाटै पाएँ । पराशर तर त्यस्ता रिसाहा हुनुुहुन्थेन र पनि राक्षसरहित समाजको कल्पनामा भने हुनुहुन्थ्यो क्या रे । अनि त्यस्तो समाज पथ प्रदर्शकको खोजीमा हुनुहुँदो रहेछ जसलाई उहाँले नदी तटमा डुंगा वारपार गर्ने एउटी मत्स्यगन्धा मझिनीको गर्भमा देख्नुभयो आफूमार्फत् जन्मने एउटा अद्भूत बालकमा जो जन्मँदै ज्ञानको पुञ्ज भएर आउने छ । नदीको बिचको सानो टापु वा द्वीपमा, कृष्णा नदीको तटमा जन्मने कृष्ण वा भनौँ कालो रङ्ग भएको भोलिका लागि वेदको प्रचारक, यस्तो धुरन्धर ज्ञाताकी जसले भूत, वर्तमान र भविष्यसमेतको सत्यापन गर्न सक्नेछ । आफूमा भएको सम्पूर्ण ज्ञानको निचोडको रुपमा । हुन त ऊ शिवको अंश हुनेछ तर भक्तचाहिँ कृष्णको हुनेछ । ब्रह्माको सन्तति अनि विष्णुको प्रचारक, शिवको भक्तिले ओतप्रोत र कृष्णको आद्यशक्तिलाई जीवन र जगतको श्रोत मान्दै आफ्नो अनुसन्धानलाई अगाडि बढाउने । कस्तो अदभूत क्षमताको बालक जन्मियो । तर बालकको रुपमा नजन्मेर व्यासको रुपमा जन्मदै प्रचारित हुन पाउने वरदान पाएको रहेछ हाम्रा परमपूज्य श्रीकृष्ण द्वैपायन व्यासले । त्यस्तो छोरो पाउने क्षमता भएको महिलाको रुपमा माता मत्स्यगन्धालाई देख्ने बित्तिकै पराशरमा एउटा अव्यक्त काम वासना आएछ एउटा छोरोको कामना । नियति हेरौँ, सदैव ब्रह्मचारी पराशर, कति रुपवतीलाई देख्नु भएको थियो होला त्योभन्दा पहिले । तर हुने कुरा कसरी टर्दो रहेछ र ? टरेन । यदि त्यसो नभएको भए पनि हाम्रो यो संसारको इतिहास नै फरक पर्थ्यो होला नि त । त्यसैले उहाँको जन्म भयो होला । तर यी सबै अहिेले मलाई किन सम्झना आइरहेछ त । खोइ किन हो, कर्ण पनि त सम्झनामा आइरहन्छ, त्यस्तै होला राजमातालाई पनि त्यो क्षण सम्झनामा आइरहन्थ्यो । व्यास पनि आइरहनु हुन्थ्यो राजदरबारमा । एकछिनमात्र हो कुराकानी हुने आमा छोराको, छोरा छोराको अनि तीनैजनाको एकमुष्ट । बल्ल दरबारमा कुनै निर्णय हुन्थ्यो ।

त्यही खोलाको तिरमा भनौँ कि नदीको तिरमा जब व्यासको जन्म भयो, अनि दासराजकी धर्मपुत्री मत्स्यगन्धाको शरीर अत्तर छरेजस्तो भयो रे, बच्चा पाएजस्तो नभएर अझ कोमल र किशोरी हुनु भयो रे । छिनमा नै कामवासना तृप्ति, छिनमा नै व्यासको जन्म, छिनमा नै मत्स्यगन्धाबाट सत्यवतीको रुपमा परिवर्तन । कस्तो दैवी लीला । तर यी सबै कुरा स्वयम् व्यासले नै भने पनि पत्याउने कि नपत्याउने हो ? भयो, भयो । जे भयो त्यही भयो । मैले पनि त कर्णको बारेमा सत्य भन्न सकेको भए सायद इतिहास अहिलेको भन्दा फरक हुन्थ्यो कि ? तर होइन, किनभने कर्ण व्यास होइन र उसमा त्यो सहनशीलता हुन्थ्यो कि हुँदैनथ्यो । तर कर्ण त सहनशील त थियो किनभने उसले मेरो छोरो भएको थाहा पाएपछि मसँग त्यस्तो व्यवहार देखाएन जस्तो कि एउटा असहिष्णु बहादुर पुरुषले देखाउँछन् । भन्न त भन्यो तिम्रा पाँचका पाँच, म रहे पनि नरहे पनि । अर्जुन रहे पनि नरहे पनि । तर उसले पाँच भाइलाई कतै कुनै ठाउँमा मार्ने प्रयास कहिल्यै गरेन । सायद मृत्यु सम्मुख आउँदा पनि उसले कृष्णलाई साक्षी राखेर भन्यो होला मौन भाषामा, म भाइलाई किन मार्थेँ र कृष्ण ? पाँच तिनै रहून्, म बरु तिम्रै अघिल्तिर तिम्रै साक्षीमा प्राण त्याग्छु । (क्रमशः)