१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सोलुखुम्बुमा औषधि अभाव, सिटामोलसमेत किन्नुपर्ने बाध्यता


0
Shares

घन्टौं लगाएर उपचार गर्न स्वास्थ्यचौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्यचौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराइ फर्किएका स्थानीय श्याम विश्वकर्माले बताए ।

यतिबेला जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा सेवाग्राही चरम मारमा परेको गुनासा आइरहेका छन् ।

सम्बन्धित निकायले समयमा ध्यान नदिँदा आफूहरुले निःशुल्क पाउने औषधि पनि मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको मुक्लिका मिलन कार्कीले बताए ।

जिल्लाको ३४ स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य औषधि सिटामोल, एमोक्सिल्न, परिवार नियोजनका साधनलगायतको औषधि अभाव भएको त्यहाँ कार्यरत् स्वास्थ्यकर्मीको भनाइ छ ।

देउसा स्वास्थ्यचौकी देउसाकी मासिका रामकुमारी राईकाअनुसार एक महिनादेखि स्वास्थ्यचौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो ।

दुईपटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भएपनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या भएको मासिका राईले बताइन् ।

‘इलाका स्वास्थ्यचौकी नेलेमा पनि सामान्य औषधि अभाव भएको करिब २० दिन भयो । औषधि माग गरियो तर पूर्ति हुन सकेन, जसले गर्दा सेवाग्राहीको गाली सहनुपरेको छ’–स्वास्थ्य सहायक नमुना पुनले गुनासोे गरिन्–‘निःशुल्क पाउने औषधि छैन । बिरामी आउँछन्, चेकजाँचपछि मेडिकल जानुहोस् भन्छौं ।’

औषधि माग गरिएको भएपनि जिल्लाबाट पूर्ति नहुँदा स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

यता, जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी पवन लामाकाअनुसार बजेट अभावका कारण समयमा नै औषधि पूर्ति हुन सकेन ।

आव २०७३/७४ मा स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३० लाख मूल्य बराबरको औषधि टेन्डर प्रक्रियाबाट खरिद गरी वितरण गरिएको भएपनि करिब २० दिनयता जिल्लामा नै औषधि अभाव भएको हुँदा स्वास्थ्य केन्द्रमा औषधि पठाउन नसकेको सूचना अधिकारी लामाले बताए ।

औषधि अभाव सुरु भएसँगै १५ दिन अगाडि नै क्षेत्रिय मेडिकल स्टोर विराटनगरमा आवश्यकताअनुसार औषधि माग गरिएको भए पनि ढुवानीका कारण औषधि ल्याउन ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिटामोल, मेट्रोनटाजोल, एमोक्सिलन, परिवार नियोजनका साधन माग गरिएको र हप्ता दिनभित्र औषधि प्रत्येक स्वास्थ्य केन्द्रमा पुगिसक्ने र उपचार सेवामा सहजता आउने पनि सूचना अधिकारी पवन लामाले बताए ।