९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


वरिष्ठ गायक पन्नाकाजीको निधन, टेकु दोभानमा अन्त्येष्टि


0
Shares

लामो समयदेखि बिरामी परेका उनको उच्च रक्तचापका कारण निधन भएको हो ।

‘तिरिरी मुरली बज्यो वनैमा’जस्ता दर्जनौं कालजयी गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ठूलो गुन लगाएका पन्नाकाजी नेपाली सांगीतिक क्षेत्रको गर्व गर्न लायक स्रष्टा मानिन्छन् ।

वि.सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले राणकालमै नाटकसमेत खेलेका थिए ।

उनी नाटककार बालकृष्ण समकासमेत प्रिय मानिन्थे । साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले शाक्यलाई गायककोरुपमा जागिर दिएका थिए ।

२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति लिएर उनले ४० सालसम्म काम गरेका थिए ।

रेडियो नेपालले २०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नारायणगोपाल संगीतमा प्रथम हुँदा पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए ।

‘किन–किन तिम्रो तस्वीर’ र ‘लोलाएका ती तिम्रा आँखा’को पुरानो मेलोडी, ‘नौलाखे तारा’, ‘एकानी दुवानी’, ‘रात यो नबित्ला’, ‘लालीगुराँस फुल्यो है’लगायत सिर्जना दिएका उनका आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन् ।

पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् ।

विभिन्न पुरस्कारबाट सम्मानित पन्नाकाजी इमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाटसमेत सम्मानित भइसकेका छन् ।

उनको बुधबारै टेकु दोभानमा अन्त्येष्टि गरिएको छ ।