१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


१५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने


0
Shares

स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।

नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भएपनि सार्क देश पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्लामा छनोट गरी कार्यक्रम गर्न लागिएको हो ।

नेपालले विश्व स्वास्थ्य संगठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।

युनिसेफले भ्याक्सिनको सहयोग गर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनले रु एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको रु एक करोड १० लाख खर्च हुने अधिकृत श्रेष्ठले बताए ।

विश्वले सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

हाल पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देशमा पोलियो नदेखिएको संगठनको भनाइ छ ।

सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ । रासस