
कहिले बिरामीको अवस्था र रोगका कारण रि–कभर हुन नसक्दा त कहिले चिकित्सक र उपचार पद्धतीमा भएको लापरवाही र खेलाँचीका कारण यस्तो अवस्था भोग्नु र सामना गर्नुपर्ने हुन्छ ।
मृत्युले सबैलाई पीडा दिन्छ । अझ दुर्घटनालगायतका आकस्मिकताबाट हुने मृत्यु त यसै पनि स्वाभाविक बन्नै सक्दैन । यसबाट परिवार र आफन्तजनमा ठूलो पीडा पुग्ने त भइनै हाल्छ । यस्तै पीडाका बेला तथ्यसम्म पुग्ने संयम र धैर्य राख्न नसक्दा न्यूरो अस्पतालमा भएको जस्तो तोडफोड र झडपको परिस्थिति यस अगाडी पनि निकै घटनामा भएको देखिएको छ ।
ठीक यस्तै घटनाका कारण आइतबार न्यूरो अस्पताल रणसंग्रामस्थल जस्तो बन्यो । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटी उपचारका लागि न्यूरो अस्पताल पुर्याइए । सडक दुर्घटनाबाट ढाडमा गम्भीर चोट लागेका उनको शल्यक्रिया त गरियो तर त्यसको केहीपछि नै समस्या आएपछि अइसीयूमा लैजादालैजादैं मृत्यु भएको दावी अस्पतालले गरेको छ ।
नगरकोटीको शल्यक्रिया सफल भए पनि स्पाइनल प्यारालाइज हुने जानकारी आफन्तलाई चिकित्सकले गराएको दाबी अस्पतालको छ । त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ ।
मृत्युको पीडामा परेका आफन्तजनले भने यसलाई अस्पतालको लापरवाही ठाने । त्यसपछि पुगेको आक्रोशित भीडले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र कर्मचारीलाई समेत कुटपिट गरेको वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटा बताउँछन् ।
बिरामीको आफन्त भने अस्पतालको दावी स्वीकार्दैन । अस्पताल र चिकित्सकको लापरवाही कारक रहेको दावी उनीहरुको छ ।
घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएको र घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको प्रहरीको भनाइ छ । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहे पनि सेवा भने नरोकिने अस्पताल प्रशासनले जनाएको छ । जेहोस्, यस्ता अप्रिय घटनाका विषयमा तथ्यसम्म पुगेर यथार्थ जानकारी लिने र दोषीलाई कारवाहीका लागि कानूनसम्मत बाटो अख्तियारी गर्नेतर्फ सबैको ध्यान जानु पर्दछ ।
अस्पताल र चिकित्सकका पक्षबाट गल्ती भएको छ भने दोषभागी बन्नुपर्छ, होइन भने पीडाबाट निस्कृत आवेगमा मात्र लाग्दा थप क्षति हुनसक्नेतर्फ सबै सचेत बन्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्