
काठमाडौं, असार २२ । सर्वोच्च अदालतले माइतीघरमन्डललगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार यही असार २९ गतेसम्मका लागि अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा सो दिन दुवै पक्षलाई छलफलका लागि बोलाउने मिति तय गरिएको छ । अदालतले सो स्थानमा निषेधाज्ञा जारी गर्नुपर्नाका कारण लिखित जवाफ दिनसमेत भनेको छ ।
‘सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको छ’ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका थिए ।
काठमाडौं जिल्लाको सुरक्षालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गतेदेखि शीलत निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन, नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रर्दशन गर्न रोक लगाउने निर्णय गरेको थियो ।
सो स्थानको विकल्पमा सरकारले विरोध प्रदर्शनका लागि खुलामञ्च, तीनकुने खुलाचौर, कोटेश्वर, भुइँखेलचौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानोगौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषदअगाडिको खुलाचौर र गौशालास्थित सिफलचौरलाई तोकेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्