
बीबीसी नेपाली सेवासंग कुरा गर्दै लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेको बताए ।
उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए ।
मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी (कोरोनर) समक्ष पठाइएको पनि उनले बताए ।
अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ । यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो ।
उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो ।
श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या नै गरेका हुन भने पनि त्यसको कारणबारे खुलेको छैन् ।
लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिइरहेको छ ।
यी प्रमाणहरुलाई हेर्दा उनले आत्महत्या नै गरेको अनुमान लगाउन सकिन्छ । यद्यपी, अनुसन्धान जारी रहेकाले थप विवरण भने आउन बाँकी नै छ ।
र्यापर अधिकारीले ‘आमा’, ‘जुत्तामा’, ‘साथी’ जस्ता कैयौं चर्चित गीतहरु गाएका छन् । यमबुद्धले तीन दिनअघि मात्रै फेसबुकमा मेरो नयाँ एल्बम ‘खतरा’ चाँडै आउँदैछ लेखेर पोस्ट गरेका थिए ।
११ फेब्रुअरीमा बेलायतमै हुन लागेको एउटा कन्सर्टका टिकट डिजाइन पनि उनले गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्