
नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौं विजयचोकस्थित डेरामा मृत फेलापरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै गरेको देखिएको जानकारी दिए ।
दीपकराज गिरी निर्माता तथा दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’को पाइरेसी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेसँगै केही दिनअघि सुवेदीलाई टेकुमा बोलाएर सोधपुछ गरी प्रहरीले छाडेको थियो ।
मृतक सुवेदीको कोठाबाट ‘सुसाइट नोट’ पनि भेटिएको छ ।
मृत्युका कारण अरु हुनसक्छ : खनाल
महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ‘छक्का पञ्जा’ चलचित्रको पाइरेसीका विषयमा मृतक सुवेदीसहित अन्य चारजनालाई १० दिनअघि महाशाखामा सोधपुछका लागि बोलाइएको जानकारी दिए ।
उनले भने–‘हामीले १० दिनअघि सोधपुछ गरेर चलचित्र निर्माण पक्ष र आरोपी दुबै पक्षबीच सहमति गराएर छाडेका हौं । तर, यो विषय हामीले कतै सार्वजनिक नगरेकाले सोही कारण आत्महत्या गरेका भन्ने कुरामा आधार छैन ।’
सुवेदी विहीबारमात्रै नवलपरासीस्थित आफ्नो घरबाट फर्किएको तथा प्रहरीले सोधपुछ गरेको १० दिन भइसकेकाले सोबीचको अवधिमा अन्य केही घटना भएको हुनसक्ने खनालले बताए ।
उनले भने–‘केही महिनाअघि नै मृत्यु भएका चलचित्र सम्बन्धित एक व्यक्तिसँग ‘छक्का पञ्जा’को सीडी रहेछ, उनको मृत्युपछि उनका छोराले सो सीडी साथीभाइलाई हेर्नका लागि बाँडेछन् । सोहीक्रममा पाइरेसी भएको देखियो ।’
सो सीडी साथीभाइमार्फत् मृतक सुवेदीसम्म पुगेको देखिएकाले अनुसन्धानकाक्रममा बोलाइएको तर उनको मुख्य भूमिका नदेखिएपछि छोडिएको प्रमुख खनालको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्