१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य आरोपी समातिए


0
Shares

कोहलपुर इलाका प्रहरी कार्यालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा, रुगिन गाविस–१ घर भइ हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।

यही पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखन्डको कोहलपुर–११ विद्युतरोडनजिकै रहेको वेलकम कटेजमा युवा संघका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गर्ने मुख्य आरोपी मल्ल फरार भएका थिए ।

फरार मल्ललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

‘खुकुरी प्रहार भएको २५ मिनेटपछिमात्रै हामीलाई घटनाबारे थाहा भयो’–प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने–‘घाइतेसँग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौं ।’

घटना भएको ११ दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।

‘घटनापछि १७ गते मुख्य आरोपी मल्ल भाग्न प्रयोग गरिएको अनटेस्ट सुजुकी जिक्सर बाइक र २१ गते वारदातमा प्रयोग भएको खुकुरी महादेवपुरी–५ ढकेरीमा बरामत गर्‍यौं’–काफ्लले भने–‘सोही दिन आरोपी फरार भएको बा१४च ४७९ नम्बरको कार पनि बरामद भएकाले फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

खुकुरी प्रहारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुनसक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ ।

घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको जनाइएको छ । रासस

तस्वीरमा घाइते अवस्थामा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी ।