१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क गर्न निर्देशन


0
Shares

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ ।

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ ।

मन्त्रिपरिषदको गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि प्रजापतिकाअनुसार यस संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके आठ/दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ ।

‘संक्रमण भए/नभएको प्याप स्मेयर टेस्ट (गर्भाशय स्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ’–प्रजापतिले भनिन् ।

परीक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ । प्याप स्मेयर गर्दा दुईदिन अगाडिदेखि यौनसम्पर्क गर्नु हुँदैन । साथै सो परीक्षण महिनावारी भएकाबेला गर्न मिल्दैन ।

परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्यरूपमा गर्नुपर्छ । परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ ।

चिकित्सककाअनुसार सो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । तीनैपटक परीक्षणमा नकारात्मक देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ ।

यसमा पनि नकारात्मक देखिएमा तीन वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नकारात्मक देखिएमा पाँच वर्षपछि परीक्षण गर्नुपर्छ ।

यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ । तर, परीक्षण गर्न छाड्न नहुने डा. प्रजापति बताउँछिन् ।

क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत हुन उनको भनाइ छ ।

भरतपुर क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानमा लैजाने
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक प्रतिष्ठानकारुपमा लैजान कार्य थाल्ने निर्णय गरेको छ ।

शनिबार राजधानीमा बसेको सन्चालक समितिको बैठकले क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव भएकाले पहिलेदेखिकै योजनालाई मूर्तरुप दिन कार्य थाल्ने निर्णय गरेको हो ।

अस्पताल सन्चालक समितिका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले आफूहरुसँग २० वर्षको अनुभव भएकाले यसलाई शैक्षिक प्रतिष्ठानकारुपमा लैजान स्वास्थ्यमन्त्री गगनकुमार थापा सकारात्मक भएको र योजना बनाएर ल्याउन भनेको जानकारी दिए ।

शनिबार बसेको बैठकले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाउने निर्णय गरेको छ ।

अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको गुनासो बढेपछि अस्पताल सुधार्ने अभियानअन्तर्गत् स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा सो व्यवस्था लागू गर्न लागिएको उनले बताए ।

मन्त्रिपरिषदले यही पुस २१ गते रिक्त ६ जना सदस्य मनोनयन गरेर क्यान्सर अस्पतालको सन्चालक समितिलाई पूर्णता दिएपछि ९ महिनापछि शनिबार सन्चालक समितिको बैठक बसेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले भने–‘निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी गरेका छौं । क्यान्सर अस्पतालको वि.सं. २०५५ मा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको थियो । त्यसकारण उक्त निर्णय कार्यान्वयन गर्न सहज हुनेछ ।’

अस्पताल सुधारका लागि सन्चालक समितिले आवश्यक पेटस्क्यान मेसिन किन्न मन्त्रालयसँग सहयोग अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

सरकारले अस्पताललाई उक्त मेसिन किन्न बजेट छुट्याएको भएपनि कानुनी बाधाका कारण अप्ठ्यारो भएपछि मन्त्रालयलाई नै अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष डा. न्यौपानेले बताए ।

नेपालको रेफरल अस्पतालकारुपमा रहेको अस्पतालमा वार्षिकरुपमा एक लाख बढी बिरामी देशभर र भारतबाट पनि ओपीडीमा जाँच गराउन आउने गर्छन् । रासस