
फाइल फोटो
चौंथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।
सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो ।
सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरे ।
राहदानी शुल्क, तस्वीर, औंठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले भौतिकरुपमा विभागमा उपलब्ध गराउनेबाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउनेछन् ।
राहदानी लिन चाहनेले ती दस्ताबेजबाहेक अन्य सबै काम एप्सबाटै गर्न र हेर्न सक्नेछन् । राहदानीका निम्ति प्रत्यक्ष दर्ता प्रणालीमा जानुपूर्व सेवाग्राहीले त्यसो गर्नुपर्नेछ ।
एप्स प्रणालीको उपयोग गर्दा कम्प्युटरबाटमात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने छ भने रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् ।
उक्त बारकोड लिएर सेवाग्राहीले राहदानी शुल्क, तस्वीर, औंठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जान सक्नेछन् ।
पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिंगटन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ ।
सेवाग्राहीले आफ्नो मोबाइलको App Qmore/Play store मा गइ nepalpassport खोजेर उक्त एप्स डाउनलोड गर्न सक्नेछन् ।
त्यस अवसरमा मन्त्री महतले अत्याधुनिक प्रविधिको उपयोग गरी सेवाग्राहीलाई सरल एवं सहज ढंगले द्रुतगतिमा सेवा प्रवाह गर्न सरकार क्रियाशील रहेको बताउँदै ‘एप्सको सुरुआत पनि त्यसैको परिणाम हो’–भने ।
सबै सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरुन् र त्यसको अनुशरण होस् भन्ने परराष्ट्र मन्त्रालयको चाहना रहेको उनले बताए ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जनमुखी सेवालाई मन्त्रालयले जोड दिएको बताउँदै भविष्यमा एप्स सेवालाई देशभर लागू गर्ने योजना सुनाए ।
विभागका महानिर्देशक सुशीलकुमार लम्सालले आफ्नो सेवा प्रवाहमा निरन्तर सुधारको प्रयासस्वरुप विभागले एप्स सेवा सुरु गरेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्