८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन


0
Shares

-संजिव कार्की

आफ्नो बाटो बनाउदै रहन्छ । मानव मनोबिज्ञान कति धारिलो हुने कति भद्दा हुने समयले समाजको गति र आवाजलाई कस्तो र कति स्थान दिन्छ त्यसमा निर्भर रहन्छ ।

समयको विस्मयकारी चक्रको घुमाउरो पिङमा आज हाम्रो देश रुमल्लिएको छ । गन्तब्यहिन गन्तव्यका यात्री झैँ भएको हाम्रो वास्तविकता डोकोले छोपेर लाज ढाक्ने रितमा अल्झिएको छ । लज्जा हराएको मात्र छैन नराम्ररी हारेको र आफैसंग सर्माएको पनि छ । समाज भताभुंग छ समाज जोड्ने कडी छिन्नभिन्न पारिएको छ । अनन्त कलह, बिग्रह बिनाश र बियोजनको दुस्चक्रमा देशलाई होमिएको छ । स्वतन्त्रताको नाममा छाडातन्त्रको छौडा पालिएको छ छोडिएको छ । छौडाहरु हरेक राजनीतिक दलले पालेका छन, बोकेर हिडेका छन । छौडाहरुको लालनपालन, पोषण देशको राष्ट्रिय ढुकुटीबाट पालैपालो हरेक दलले गरेका छन् । खाने सुबिधा लिने र नेपाल आमाको सुकेको लाम्टा लुछ्न कुनै दलको पनि बिमति र अबरोध हुन्न गरिन्न ।

सहमतिको नाममा आफ्नो स्वार्थ लाई प्रधान बनाएर दलहरु चलेका छन् । देश दुनियाँ दशामा छ तर नेताहरु संधै दशैँमोज,भोज र मस्तीमा छन । नेतालाई देश दुख्दैन जनताको छाना र नानाको चिन्ता छैन केवल चिन्ता छ आफ्नो भुँडीको । भुँडीबाद सबै नेता पार्टी र तिनका आसेपासे चम्चे हुक्के बैठके ढोके र बगैचेको समान र परिचायक साझाबाद र सहमतिको बिन्दु हो । देश लुट्न बेसरम सहमतहुने दलहरु देश बनाउन संधै असहमत हुन्छन । देश बिगार्ने थुप्रै कडी बाद र सिद्दान्त बोक्ने सामर्थ्य भएका नेतागण देश जोड्ने कडी के हो ? कुन बाद र सिद्दान्तले देशलाई एकढिक्का र बलियो बनाउँछ भन्ने पोयो भेट्टाउन असफल छन । देश जोड्ने पोयो हामीसंग छ तर त्यो पुनरुत्थानवादी, पश्चगामी अनि प्रतिगामी हुन्छ मानिन्छ । नयाँ बनाएर हैन पुरानो स्थापित मान्यता र नाम फेरेर यहाँ आधुनिकीकरणको अभ्यास गरिन्छ । इतिहास संरक्षण गरेर हैन इतिहासलार्इ मेटेर भत्काएर बिगारेर, बंग्याएर नयाँ नेपालको परिकल्पना गरिन्छ । प्रतिसोध लिने नाउमा भएका तोडिन्छ तर नया सिर्जना गरिन्न नविन थालनी हुँदैन । अपजसको भारी अरुलाई नै बोकाएर आफ्नो जिम्वेवारी बाट पन्छने कुसंस्कृति को शुरुवात भएको छ ।

देश बनाउने पृथ्वीनारायण शाह सबैभन्दा आलोच्य र निन्दनीय पात्रमा दर्ज हुन्छन, बनाइन्छन् । अनि देश बिखन्डन र विग्रहको नारा फलाक्ने प्रजातान्त्रिक र प्रजातन्त्रको हियामति नेपाल राज्यको एकीकरण तत्कालिन आवश्यकता र समयको आवाज थियो । टुक्रे राष्ट्र भएर छरिएर रहनु, कमजोर दुर्वल र संधै आस्थिर भएर बस्नु संधै शंका आशंका अनि भय र कसले कतिबेला आक्रमण गर्ला भनेर एकार्काप्रति शसंकित भएर रहनु भन्दा बलियो एक ढिक्का र सवल राष्ट्रको परिकल्पना पृथ्वीनारायण शाहले गरे । अनि आफ्नो महानतम अभियान र सपनालाई साकार पार्न दिलो ज्यानले लागि परे । कति रणनीति अपनाएर सवै अध्यन अनुसन्धान अनि कार्ययोजना तयार पारी कोसिस जारी राखे । थुप्रै असफलता, हार, पराजयलाई सिक्ने र नयाँ रणनीति बनाउने अवसरको रुपमा प्रयोग गरे ।

बि.स.१७७९ पौष २७ मा जन्मिएका पृथ्वीनारायण शाह, बाबु नरभूपाल शाहको देहान्त भए पछि १७९९ मा २० वर्षको नवजवान हुँदा गोर्खा राज्यको राजा हुन् पुगे । उनलाई राजा हुनु सानो कमजोर राज्यको राजा हुनु मात्र थिएन एउटा सबल र समुन्नत राज्य बनाई बलियो देशको राजा हुने अनि राज्य पनि बलियो बनाउने अभिस्ट थियो । आफ्नो सो अभिस्ट पुरा गर्न राजा पृथ्वीनारायण लागिपरे । निरन्तरको प्रयास पछि टुक्रे र छरिएर रहेका साना–साना राज्य छिन्नभिन्न भएर रहेका नेपाल खण्डका राज्यलाई एक पार्न सफल भए ।

पृथ्वीनारायण शाहको वीरता , चातुर्यता धैर्य साहस र कुशल रणनीति बिना यो देश आजको यो अवस्थामा नरहन पनि सक्थ्यो । बिशाल भूगोल धन, जन र बलले अत्याधिक सम्पन्न दुई मुलुकको बिचमा एकदम निम्छरो मुलुक छिन्न भिन्न भएर संधै रहने, एक आपसमा संधै काटमार गरेर रहीरहने स्थिति कति भयावह हुन्थ्यो जसलाई समयमा पर्गेल्न सक्ने ल्याकत पृथ्वीनारायण शाहमा थियो । जसले गर्दा आज स्वतन्त्र अस्तिव भएको मुलुकको नागरिक हुने सौभाग्य हामीलाई प्राप्त भएको छ । जसको कुशल ब्यबस्थापन र नेत्रित्व पृथ्वीनारायण शाहले गरे भने उनलाई अरु हाम्रा वीर अग्रज र पुर्खाहरुले साथ् दिए । तत्कालिन समयको आवश्यकताले पृथ्वीनारायण शाहलाई एउटा सानो देशको राजा मात्र बन्न अभिप्रेरित गरेन । विशाल नेपाल र नेपालीको राजा राष्ट्र निर्माता र कुशल आर्थिक ब्यबहारिक र वैचारिक नेता दुरदर्शी राजनीतिज्ञ र एउटा पवित्र कर्मका अभियन्ता नेता बनायो । समयको कडीमा खरो उत्रेका राजा पृथ्वीनारायण शाह केवल बंश परम्परा धान्ने राजा मात्र होइनन तसर्थ पनि स्मरणीय र पुज्य छन् ।

बंश परम्पराका राजा मात्र होइनन नेपाल र नेपाली भावना र राष्ट्रिय एकताका प्रतिक पनि हुन् । एउटा स्वप्निल राजा जसको सपनाको कारण नै आज विशाल हिमालयको काखमा लमतन्न पवित्र भुमि पूर्व मेची देखि पश्चिम काली अनि दक्षिणको समथर तराई मधेशसम्म हामी नेपाली हाम्रो नेपाल भनेर गर्व गर्न पाएका छौ । हाम्रो स्वतन्त्र अस्तिव र भर्जिनिटि प्रति धेरैले धेरै पटक आँखा गाढे लुट्ने प्रयत्न गरे । तर लुट्न सकेका छैनन् आज पर्यन्त । लुट्न दिदैनौ पृथ्वीको प्रलय पर्यन्त । आफ्ना पूर्वज प्रति, आफ्ना पृती प्रति श्रद्दा गर्नु ,सम्मान गर्नु ,आदरभाव देखाउनु ,गौरव गर्नु , कृतज्ञता प्रकट गर्नु , हाम्रो पूर्वीय दर्शन र समाजको संस्कृति र जीवनशैली अनि संस्कार हो । तसर्थ पनि हामी हाम्रा अग्रज, पूर्वज प्रति घृणा र अपमान गर्न सक्तैनौ ।

हाम्रो सांस्कृतिक मुल्य र मान्यता भन्दा बाहिर गएर आफ्नोपन गुमाउन हामीलाई कुनैपनि हालतमा मन्जुरी छैन । आफ्ना जन्म दिने बाबु आमालाई जसरी हामी असम्मान गर्न सक्तैनौ त्यसैगरि यो राष्ट्र निर्माणमा आफ्नो रगत, पसिना जीवन बुद्धी वर्कत, श्रम र सीप खर्चने पृथ्वीनारायण नेतृत्वको त्यो गौरवशाली पुस्ता प्रति पनि श्रद्धाले शिर झुकाउन सक्छौ । उनीहरुको वीरता दुरदर्शिता अनि कल्पनाशीलता र योगदानको उच्चमुल्यांकन गर्दै प्रसंसा गर्दछौं । राजा अनि राजाको प्रतिनिधि हुनुको नाताले पृथ्वीनारायण शाहलाई अमर्यादा गर्यौ भने उनलाई साथ् दिने हाम्रा अग्रज पुर्खाहरुको पनि असम्मान र अमर्यादा हुनेछ । अर्थ संकलनको लागि सुझाउने विशे नगर्ची राजनीतिक ज्योतिष सल्लहाकार कुलानन्द पनि असम्मानको भागी हुनेछन ।

कालु पांडे देखि विराज थापामगर शिवराम सिंह बस्नेत देखि तत्कालिन युद्धमा सामेल सबै अग्रज प्रति असम्मान हुनेछ तसर्थ पनि पृथ्वीनारायण शाह लाई सम्मान सत्कार र आदर गर्न कन्जुसाई गर्नु हुन्न गर्न सकिन्न । भलै केहि अतिबादी चिन्तन साँघुरो सोच र शैली भएकाहरु बिरोधमा रहुन या पृथ्वीनारायणलाई विस्तारबादी नै किन नदेखुन आम नेपालीको नजरमा सम्मान र सत्कारका पात्र नायक र युगिन राजा हुन् पृथ्वीनारायण शाह । पृथ्वीनारायण शाह आफु स्वयं लडाकु र आफ्ना भाइ समेतलाई लडाईको मैदानमा उतार्ने समतामूलक सोच भएका ब्यबहारिक राजा हुन् । वीरहरुको कदर गर्न जान्ने ,समयको गति र प्रवाहलाई पक्रिन सक्ने चौतर्फी क्षमता भएका युग सुहाउदो नेता राजा हुन् । अर्थ, कुटनीति, राजनीति समाजको चेत र गहिराईलाई तलै सम्म पुगेर छाम्ने कला र खुवीका धनी मान्छे हुन् ।

आज पनि उनले लिएका नीति कुटिल र चुतुर कार्यकौशलता दिएका दिब्य उपदेशहरु सान्दर्भिक मात्र छैनन् अत्यन्त ब्यबहारिक र उन्नत छन । प्रजा मोटा भया दरवार बलियो हुन्छ । राजाका भण्डार भनेका रैतानहरु हुन् , नेपाल दुई ढुंगा बीचको तरुल हो , यी र यस्तै हितोपदेशहरु आज पनि उत्तिकै औचित्यपूर्ण र समसामयिक अनि अकाट्य छन् । तत्कालिन अंग्रेजहरुको दबदबा अनि नेपाली भूमिमा परेको गिद्देनजरलाई हृदयंगम गर्दै उनीहरुलाई नचिढ्याउने, अल्मल्याउने आक्रमण गर्न नदिने तर आक्रमण गरे मात्र प्रत्याक्रमण गर्न आफ्ना फौज र सेनालाई सतर्कतापुर्वक चनाखो भइ बस्न गरेको निर्देशनबाट थाहा लाग्छ कस्तो परिस्थितिमा कस्तो रणनीति अख्तियार गर्ने भन्ने सुझबुझ पूर्ण निर्णय क्षमता यी राजामा थियो । नेपाल देशको सार्वभौमिकतालाई अकन्टक अखण्ड राख्न योगदान दिने पृथ्वीनारायण शाहलाई अरु राजा र राजसंस्थाले गरेको अकार्यको आधारमा लघुसोच र लाघुशंका गरि खुम्च्याएर हेर्न हुन्न । राष्ट्र निर्माण गर्ने कुशल अभियन्ता नेता पृथ्वीनारायण शाहको योगदानको उच्च सम्मान र मुल्यांकन गर्दै पौष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा भब्य र सभ्य ढंगले मनाउन देशबासी उमंगले सरकारको देशभक्ति पूर्ण विवेकबाट संचालित निर्णयको प्रतिक्षामा छन् ।

सरकार कमजोरी सच्याएर देशभक्त नेपालीको भावनाको कदर गरि राष्ट्र निर्माता पृथ्वीनारायण शाह सहित सबै राष्ट्र लागि लड्ने वीर बिरंगना प्रति श्रद्धा प्रकट गर्ने दिवसको घोषणा गर । आफ्ना दिबंगत पितृ प्रति श्रद्धाभाव प्रकट गरि सु-कार्य, महान कार्य जो जसले गरेको भए पनि आदर सत्कार गर्ने प्रसंसा गर्ने नेपाली छातीको विशालताको पर्दर्शन र पथपर्दर्शन गरौं । समाजलाई सु-सभ्य र सु-संस्कृत बनाउने पूर्वजको अनुशरण गरौं । ठिकलाई ठिक , बेठिक लाई बेठिक भन्न कुनै छुट्टै बाद र सिद्दान्त अनि अनुशासनको दाम्लोमा बाँधिनु पर्दैन । सच्चा नेपाली मन र पन भए पुग्छ । पहिले नेपाली अनि त्यसपछि अरु तपशिलका कुरा । सबै राजाले मात्र गल्ती गर्दैनन् सबै गल्ती राजाले मात्र गर्छन त्यो होइन । गल्ती कमी कमजोरी नभएको कुनै व्यक्ति संस्था हुन्न । सत्य आक्षेप र पाखण्डले संधै छोपिदैन । आफ्नो सम्मान र मर्यादा चाहनेले अरुको मर्यादा गर्न सिक्नुपर्छ । असल कर्म जो जसले जहाँसुकैबाट गरे पनि खुल्ला दिलले स्वागत र सम्मान गरौं । विगतको दुःख विस्मृतिमा राखेर सुखद अनुभूतिलाई निरन्तरताको मार्ग प्रसस्त गरौं । आफ्ना लागि पनि भावी पुस्ताले सम्झने बाटो राखौं ।