
टेलिकमले आइतबारदेखि काठमाडौं उपत्यका र पोखराका केही स्थानमा पछिल्लो विकसित प्रविधि फोरजी सन्चालनमा ल्याएको हो ।
फोरजी सेवाको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे । थ्रीजीकै मूल्यमा फोरजी सन्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।
१ एमबी डाडाको १ रुपैयाँ लाग्ने छ । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी दु्रतगतिमा सन्चालन हुने टेलिकमको दाबी छ ।
फोरजी सेवा परियोजनाको कुल लागत ३६ लाख डलर अर्थात् ३८ करोड ८८ लाख रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले ३२ दशमलव ४ एमबीपीएस डाटा क्षमताको फोरजी सेवा सन्चालनमा ल्याएको हो ।
हाललाई पोस्टपेडमामात्रै फोरजी सेवा दिएको टेलिकमले आफ्नो वार्षिकोत्सवका दिनदेखि प्रिपेडमा पनि यो सेवा विस्तार गर्ने प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
सन्चारमन्त्री कार्कीले टेलिकमले ढिलै भएपनि चौथो ‘जेनेरेसन’ सेवा फोरजी सुरु गरेको भन्दै यो सेवालाई देशैभर विस्तार गर्नुपर्ने बताए ।
टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवाले सेवाग्राहीमा विविधता थपेको भन्दै यसलाई विस्तार गर्दै लैजाने बताइन् ।
३२ दशमलव ४ एमबीपीएसको गतिलाई बढाउने तयारी सुरु भैसकेको उनले बताइन् ।
उनले टेलिकमको नेटवर्क सुधार पनि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
विश्व बजारमा फोरजी सेवा ७ वर्षअघि सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्