८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अब यसरी हुन्छ नेपालका रेडियो, टीभी र अनलाइनको अनुगमन (भिडियोसहित)


0
Shares

काठमाडौं, पुस ३ । सूचना तथा सन्चारमन्त्री राम कार्कीले प्रेस काउन्सिलमा विद्युतीय सन्चारमाध्यम अभिलेखीकरण तथा अनुगमनसम्बन्धी उपकरण तथा प्रणालीको उद्घाटन गरेका छन् ।

करिब एक करोड ५४ लाख ४५ हजार रुपैयाँको लागतमा स्थापना गरिएको आधुनिक उपकरण तथा प्रणालीबाट हाललाई १६ ओटा टेलिभिजन च्यानलको २४ सै घन्टा अभिलेखीकरण गरिने र काउन्सिलमा सूचीकृत भएका अनलाइन मिडिया र अनलाइनबाट बज्ने करिब दुई सय रेडियोको समाचार अभिलेखीकरण गरिने बताइएको छ ।

हाल काउन्सिलसँग भएको प्रणालीअनुसार टेलिभिजनहरुबाट अभिलेखन गरेका सामग्रीलाई सामान्य गुणस्तरमा तीन महिनासम्म र गुणस्तर घटाएर दुई वर्षसम्मका लागि सुरक्षित राख्न सकिनेछ भने अनलाइन समाचार र अनलाइनबाट बज्ने रेडियोका समाचारलाई तीन महिनासम्म सुरक्षित राख्न सकिने बताइएको छ ।

सन्चारमन्त्री कार्कीले यो आधुनिक प्रविधिको अनुगमन प्रणालीले सन्चार क्षेत्रलाई जिम्मेवार बनाउन मद्दत पुग्ने र यसैका आधारमा सन्चारमाध्यमको वर्गीकरण गर्न सहज हुने बताए ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले विद्युतीय सन्चारमाध्यमको अभिलेखन, प्रवृत्ति विश्लेषण र आचारसंहिता अनुगमनको लागि आधुनिक उपकरण र प्रणाली महत्वपूर्ण भएको जिकिर गर्दै यसको भन्डारण र क्षमतामा बृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।

हाल नेपालमा इजाजत प्राप्त टेलिभिजनको संख्या करिब ८५ ओटा छ भने अनुमति लिइ सन्चालनमा रहेका एफएम रेडियोको संख्या करिब ६५० ओटा रहेका छन् ।

त्यस्तै, मिडियाकोरुपमा काउन्सिलमा सूचीकृत अनलाइनको संख्या करिब ५०० रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्