काठमाडौं, पुस २ । ब्रिटिश गोर्खा नेप्लीज काउन्सिलले सन् २०१७ भित्रै व्रिटिश गोर्खा अवार्ड र मिस गोर्खा आयोजना गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष एकराज नेम्बाङले संस्थाको स्थापना नै नेपाली कलाकारिता, साहित्य, संगीत, खेलकुद र पत्रकारितालाई विश्वभरि नै चिनाई नेपालको सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको बताउँदै भने,‘कलाकारिता, साहित्य, संगीत, खेलकुद र पत्रकारितासहितको ५ विद्याका प्रतिभा वा श्रष्टालाई सम्मान गर्ने उद्देश्यले विश्वभरबाट छनौट गरि व्रिटिश गोरखा अर्वाड प्रदान गर्छौं ।’
त्यस्तै उनले नेपाललगायत विश्वभरका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले मिस गोरखा पनि आयोजना गर्ने जानकारी दिए । उनले अघि थपे,‘यी दुवै कार्यक्रमको लागि हामीले तयारी सुरु गरिसकेका छौं ।’ अध्यक्ष नेम्बाङ्ले गोरखालीहरुले सिकेको सिप र क्षमतालाई सरकारले मुलुक निर्माणमा लगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मुलुकको आर्थिक समृद्धि र विकासको लागि परिषदले विशेष भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै आगामी दिनमा परिषदले यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
परिषदका उपाध्यक्ष विष्णु गुरुङले बेलायत लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुमा रहेको जोश, जाँगर र नेपालप्रति केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरुको सामूहिक प्रयासले संस्थाको स्थापना भएको उल्लेख गर्दै आगामी दिनमा यसले विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध बनाउने र नेपालको लागि केही गरेर देखाउने बताए ।

कार्यक्रममा पूर्व मिस नेपाल सुविन लिम्बुले परिषदले सामाजिक कार्यमा हात हालेर उदाहरणीय काम गरेको भन्दै प्रंशसा गरिन् । उनले परिषदले मिस गोरखाको आयोजना गर्न लागेको थाहाँ पाउँदै निकै खुशी लागेको भन्दै यसले नयाँ प्रतिभाहरुको खोजी गर्ने र क्षमताको प्रष्फुटन हुने अवसर दिने विश्वास व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा गायिका सुनिता दुलालले परिषदले गर्दै आएका कार्यक्रमहरुमा आफू निरन्तर सहभागी हुँदै आएको जानकारी दिँदै भनिन्,‘आगामी दिनमा परिषदले गर्ने यस्ता सामाजिक कामहरुमा मेरो सहयोग रहन्छ, परिषदले गर्न लागेको यी कार्यक्रमहरुलाई पुर्ण रुपमा सफल बनाउन म पनि लागि पर्छु ।’
परिषदले आगामी दिनमा संस्थालाई बृहत्तर रुप दिनको लागि विश्वका विभिन्न राष्ट्रमा प्रतिनिधि चयन तथा च्याप्टर गठनको प्रक्रिया पनि अघि बढाईसकेको जानकारी दिएको छ । जस अनुसार नेपाल च्याप्टरले बैधानिकता प्राप्त गरिसकेको छ । परिषदले हङ्कङ्, इजरायल, युएई, कतार, आयरल्याण्ड, अमेरिका, सिँगापुरमा प्रतिनिधि चयनको कार्य पुरा गरिसकेको जानकारी दिएको छ ।
अवार्डका लागि निर्देशिका र कार्यविधि बनाई काम अघि बढाइने जनाइएको छ । विश्वभरमा रहेका श्रष्टाहरुको खोजी वा पहिचान गरी ‘नमुना अवार्ड’का रुपमा वितरण गरिने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्