
गौशाला, पुस १ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् ।
सशस्त्र प्रहरी बल, बिओपी, मलिवाराबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोखरेलको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा भारतबाट बिआरबी ३८२४ नम्बरको मोटरसाइकलमा चढी आएका दुवै युवकलाई पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरीले पक्राउ गरेका दुवै युवाको साथबाट चार पोका गाँजा, तीन पोका चरेस, ७५ किलोग्राम चिनी, एक थान चक्कु र दुई हजार एक सय ५५ भारतीय तथा एक हजार ३६० नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पोखरेलले बताए ।
पक्राउ परेका दुवैलाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धानका लागि हाल सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीमा लगेको जनाइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्